१५ चैत्र २०८०, बिहीबार

कम्युनिष्ट एकताबाट मात्र सामन्तवादका अवशेष समाप्त पार्न सकिन्छ : प्रचण्ड

Prachanda Sambodhan pokhara
फाइल फोटो

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट एकताबाट मात्र सामन्तवादका अवशेष समाप्त पार्न सकिने बताउनु भएको छ ।

एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन केन्द्रीय समितिद्वारा आज आयोजित ‘राष्ट्रिय प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम’को भर्चुअल उद्घाटन समारोहका क्रममा अध्यक्ष दाहालले यस्तो बताउनु भएको हो ।

उहाँले शिक्षकसहित समाजका धेरै वर्गका माग सम्बोधन गर्न २० प्रतिशत युवालगायतलाई नीतिगत तहमा समेटेर लैजाने अवधारणा बनाइएको बताउनुभएको छ । उहाँले संविधान, लोकतन्त्र र राष्ट्रियता रक्षाका विषय जनताका बीचमा पु¥याउन शिक्षकलाई आग्रह गर्नुभयो ।

“नेपाली मौलिकताको जनवादी क्रान्तिको कोर्स पूरा भए पनि साम्राज्यवादविरुद्धको लडाइँ बाँकी नै छ”, उहाँले भन्नुभयो, “समाजवादी क्रान्तिबाट सामन्तवादका अवशेष समाप्त पार्न कम्युनिष्ट एकता र आन्दोलनबाट मात्र सम्भव छ ।”

उहाँले चुनाव घोषणा गरिसकेको सरकारले संविधान प्रतिकूल मन्त्रिपरिषद् पुनः गठन गरेको जिकिर पनि गर्नुभयो । उहाँले यतिबेला कोरोना महामारीविरुद्ध सबै एकताबद्ध भएर जुध्न पनि अनुरोध गर्नुभयो ।

सो अवसरा सङ्गठनकाभ केन्द्रीय अध्यक्ष शङ्कर अधिकारीले सरकार र राजनीतिक दलले शिक्षकका माग बेवास्ता गरेको आरोप लगाउनुभयो । अध्यक्ष अधिकारीले भन्नुभयो,“सेना, प्रहरी र निजामती कर्मचारीलाई विभिन्न सेवा दिँदै गर्दा यो मुलुकभित्रकै श्रमजीवी शिक्षकलाई विभेद किन ?”

कार्यक्रममा सातै प्रदेशका अध्यक्षले सङ्गठनको प्रतिवेदन प्रस्तुत गरेका थिए । सो भर्चुअल ‘राष्ट्रिय प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम’मा करीब एक हजार शिक्षकको सहभागिता रहेको सङ्गठनका केन्द्रीय महासचिव निमबहादुर केसीले जानकारी दिनुभयो ।