७ बैशाख २०८१, शुक्रबार

प्रदेश २ सरकारमा काँग्रेस जाने निश्चित, मुख्यमन्त्री फेर्नु पर्ने माग

thumb mukhyamantri karyalaya janakpur 1140x570 1

संघीय सरकारमा जसपाको महन्थ ठाकुर–राजेन्द्र महतो गएसँगै प्रदेश २ को सत्तासमिकरण बिग्रेको छ ।पूर्व राष्ट्रिय जनता पार्टी(राजपा)बाट प्रदेश सरकारमा रहेका भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, राज्यमन्त्रीहरु अभिराम शर्मा, डिम्पल झा र सुरेश मण्डललाई हटाइने तय भएकोछ । तर पूर्व राजपाका नवलकिसोर साह र रामनरेश यादव मन्त्री रहिरहने छन् । साह र यादवले खेमा परिवर्तनगरि यादव समुहमा सकृय छन् । उनीहरु दुबै जना कार्यकारिणी समितिमा यादव पक्षलाई बहुमतमा पु¥याएका हुन् ।

नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिसित प्रदेश २ को सत्तासमिकरणबारे शुक्रवार छलफल गरेका जसपाका अध्यक्ष उपेन्द्र यादव साँझ जनकपुरधाम आइपुगेका छन् । पूर्व राजपालाई सरकारबाट हटाउने तयारी गरिसकेका यादवले प्रदेश २को नीति तथा कार्यक्रम र बजेट पास गराउन काँग्रेस, माओवादी केन्द्र र एमालेको साथ पाउने वातावरण बनाएका छन् । यादवले प्रदेश सरकारको वषयमा मुख्यमन्त्री लालबाबु राउत, आर्थिक मामिला मन्त्री विजय कुमार यादव लगायतसित छलफल गर्ने कार्यक्रम रहेको छ । उनले सरकार बाहिर रहेका काँग्रेस, एमाले र माओवादी केन्द्रका नेताहरुसितपनि भेटने बताइएको छ । स्रोतका अनुसार निर्वाचन आयोगले महन्थ ठाकुर, राजेन्द्र महतो, लक्ष्मण लाल कर्ण र सर्वेन्द्र शुक्लको निष्कासनलाई सदर गर्ने बितिकै प्रदेशमा सरकार परिवर्तन हुनेछ ।तत्काल बजेट पास हुञ्जेल सम्म यो सरकारले नै निरन्तरता पाउने छ ।असार १ गते बजेट प्रस्तुत हुने अनिवार्य कार्य सुची रहेको छ । स्रोतहरुका अनुसार प्रदेशमा काँग्रेसले मुख्यमन्त्रीको दावी गरेपनि उपमुख्यमन्त्री सहित भौतिक पूर्वाधार विकास र आन्तरिक मामिला तथा कानुन मन्त्रालय लिनेमा सहमत हुनेछ ।काँग्रेसले सरकारमा २ वटा मन्त्रालय पाउने छ । जसपा अध्यक्ष यादवसितको छलफलमा उपसभापति निधिले मुख्यमन्त्री नै दिनु पर्ने तर्क राखेका थिए ।प्रदेशमा संसदीय दलका नेता रामसरोज यादवले गठबन्धन सरकारको नेतृत्व आफ्नै पार्टीले गर्नुपर्ने बताउँदै आएका छन् ।

सरकारमा जसपालाई सघाउने काँग्रेस, माओवादी केन्द्र र एमालेका सभासदहरुले भने मुख्यमन्त्री फेर्नु पर्ने दवाव दिन थालेका छन् । उनीहरुले जसपाकै नेतृत्वमा सरकार रहेपनि मुख्यमन्त्री फेर्नु पर्ने उनीहरुको माग छ । सरकार बनाउन पूर्व राजपा संसदीय दलका नेता समेत रहेका भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनललेपनि यादवसित भेंटेर सहयोग मागेका थिए । माओवादी केन्द्रले एउटा र एमालेको माधवकुमार नेपाल– झलनाथ खनाल समुहले एउटा मन्त्रालय पाउने बताइएकोछ । प्रदेश सभाको गणित अनुसार हाल पूर्व समाजवादी पार्टीको तर्फ कम्तिमा ३३ जना रहेका छन् ।काँग्रेसको १९ जना, माओवादी केन्द्रको ८ जना र एमालेको २१ मध्ये नेपाल–खनाल समुहका १३ जना रहेका छन् ।एमाले ओली समुहमा ८ जना र पूर्व राजपाको २२ जना रहेका छन् । हाल प्रदेश सभामा १ सय ४ जना रहेका छन् । त्यस मध्ये पूर्व राजपाका एक जना सभामुख छन् । माओवादी केन्द्रले ३ जनालाई निष्कासन गरेपछि संख्या घटेको हो । प्रदेश सभाको मौजुदा सभासदहरुको ५३ जना सरकार बनाउन चाहिन्छ । पूर्व समाजवादी पार्टीको ३३, काँग्रेसको १९, माओवादी केन्द्रको ८ र एमाले नेपाल–खनाल समुहको १३ गरी ७३ हुनेछ । यसमा पूर्व राजपाबाट अझै केहि थपिने बलियो संभावना छ ।