६ चैत्र २०८०, मंगलवार

गोकुल बाँस्कोटामाथि छानबिन हुन्छ, एमसीसीको टुंगो छिट्टै लाग्छः गृहमन्त्री थापा

Ram Bhadhur Thapa Badal

गृहमन्त्री रामबहादुर थापाले निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटामाथि छानबिन हुने बताएका छन् ।

गृहमन्त्रीले आइतबार बिहान हेटौंडामा बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सञ्चारकर्मीसँग कुरा गर्दै यस विषयमा सरकारले छानविन गर्ने बताएका हुन् ।

बाँस्कोटाले नैतिकताका आधारमा राजीनामा दिइसकेकाले यस विषयमा सरकारले आवश्यक छानबिन गर्ने बताए ।

गृहमन्त्री थापाले बाँस्कोटाविरुद्ध सरकारका विभिन्न निकायले आवश्यक अनुसन्धान गर्ने बताए ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा कमिसनको डिल गरिरहेको अडियो सार्वजनिक भएपछि बांस्कोटाले गत बिहीबार राजीनामा दिएका थिए ।

गृहमन्त्री थापाले एमसीसीको बहस पनि उपयुक्त ढंगले टुंगो लगाउने दाबी गरे ।

उनले एससीसीबारे नेकपाले बनाएको कार्यदलले दिएको सुझावको आधारमा निर्णय लिइने बताए । त्यस्तै भारतसँगै सीमा जोडिएको कालापानी क्षेत्रको सन्दर्भमा भारतले प्रकाशित गरेको नक्साबारे सरकारले कुटनीतिक ढंगले समस्या सामाधान गर्ने थापाले बताए । 

शान्ति सुरक्षाको अवस्था सुदृढ रहेको दाबी गदै गृहमन्त्री थापाले सुरक्षाको नयाँ रणनीति अवलम्बन गरिएको जानकारी दिए ।

अन्तराष्ट्रिय तथ्यांकमा देशको सुरक्षा स्थिति पहिलेको भन्दा सुधार भएको दावी गर्दै उनले समृद्धि र विकासका लागि सरकारले धेरै राम्रा काम थालेको बताए ।

“गत वर्ष ७ दशमलव १ प्रतिशत आर्थिक वृद्धि भएकाले देश विकासको गतिमा रहेको देखिन्छ, ७ प्रतिशत भन्दामाथि आर्थिक विकास भएको देश संसारमा कमै मात्र रहेको छ,” उनले भने ।

हिजो देखि हेटौडामा सुरु भएको बाग्मती प्रदेश स्तरीय सुरक्षा गोष्ठीलाइ गोष्ठीमा प्रदेशका १३ वटै जिल्लाको शान्ति सुरक्षाको अवस्था, नागरिकता,पासपोर्ट वितरण, अपराध नियन्त्रण तथा छिमेकी सिमाना समीक्षा गरिने कार्यक्रम रहेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए ।

दुई दिने गोष्ठीमा प्रदेशको १३ वटै जिल्लाका नेपाली सेना,नेपाल प्रहरी,सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धानका प्रमुखहरुको सहभागितामा रहेको छ ।