४ बैशाख २०८१, मंगलवार

सुदूरपश्चिम प्रदेशमा सचेतना कार्यक्रमले सङ्क्रमण दर घट्दै

coronavirus
फाइल फोटो

पछिल्लो केही सातादेखि डोटीसहित सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमण र मृत्युदरमा कमी आएको बताइएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार गएको वैशाख २० देखि २७ गतेसम्म सुदूरपश्चिम प्रदेशमा कूल परीक्षणको ३७.२ प्रतिशतमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । जेठ २० गतेसम्म आइपुग्दा सङ्क्रमण तथा मृत्युदर क्रमिकरूपमा घट्दै गएको प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका प्रमुख डा.गणराज अवस्थीले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिले मृत्युदर २.१५ प्रतिशतले कम भएको पाइएको छ । अघिल्ला तीन हप्ताको तुलनामा सबैभन्दा धेरै १४ हजार ९१४ जनाको परीक्षण गर्दा यो हप्ता सबैभन्दा कम तीन हजार ३०५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

यसैगरी सुदूरपश्चिम प्रदेशमा सङ्क्रमित निको हुने दर पनि बढ्दै गएको निर्देशनालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । जेठ ११ गतेदेखि प्रदेशमा कोरोना सङ्क्रमण र मृत्युमा कमी हुँदै गएको देखिन्छ । यहाँका नागरिक कोरोनाबाट जोगिनका लागि सचेत भएका र सरकारले गरेको निषेधाज्ञाको पूर्ण पालना गरेका कारण कोरोना सङ्क्रमण र मृत्युदर घट्दै गएको निर्देशनालयको दाबी छ ।