१४ बैशाख २०८१, शुक्रबार

मध्यराति एमालेमा वार्ता, एकताको प्रयास सुरु

Kp oli madhav nepal
फाइल फोटो

सत्तारुढ नेकपा एमालेमा फेरि औपचारिक वार्ता गर्ने प्रयास सुरु भएको छ ।

दोस्रो तहका नेताहरूबीच सोमबार मध्यरातिसम्म याक एण्ड यति होटलमा वार्ता भएको हो । दुबै पक्षका दोस्रो तहका नेताहरुबीच भएको कुराकानी पुनः एकता वार्ता सुरु गर्ने प्रयास भएको बताइएको छ । ‘व्यक्तिगत तहमा कुराकानी भएको हो । हामीले पार्टी एकतबारे लामो छलफल गरेका छौं । औपचारिक कार्यदल बसेको होइन,’ एक नेताले भने ।

प्रतिनिधिसभा विघटनविरुद्ध माधवकुमार नेपाल समूहका सांसदहरु पनि सर्वोच्च अदालत गएपछि कार्यदल स्तरको वार्ता समेत अवरुद्ध भएको थियो । लगत्तै अध्यक्ष केपी शर्मा ओली पक्षीय नेताहरु मात्र भएको स्थायी कमिटीको बैठकले माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ नेतालाई पार्टीबाट निस्कासन गरेको छ भने थप १२ जनालाई स्पष्टीकरण सोधिएको छ । तर उनीहरुले स्पष्टीकरण दिएका छैनन् ।

वार्तामा नेपाल पक्षका तर्फबाट घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट र योगेश भट्टराई सहभागी थिए । ओलीका तर्फबाट अर्थमन्त्री विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ र परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली सहभागी थिए ।