८ बैशाख २०८१, शनिबार

भारत तीर्थ यात्रा गएको बस दुर्घटना १० नेपालीको सनाखत

coimbatore accident

दक्षिण भारतमा रहेको तीर्थस्थलको भ्रमण गर्न गएका सुनसरी इटहरीका १० जनाको दुर्घटनामा मृत्यु भएको छ। माघ २३ गते इटहरीबाट एक महिने तीर्थयात्रामा गएका उनीहरुको बुधबार राति दुर्घटनामा मृत्यु भएको हो। दक्षिण भारतीय राज्यको तमिलनाडुको सालेममा दुर्घटना भएको हो।

को१ख ५३३४ नम्बरको बस विपरीत दिशाबाट आएको बससँग ठोक्किदा मृत्यु भएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ।

पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय प्रदेश १ का प्रमुख एसपी भीमबहादुर दाहालका अनुसार इटहरी उपमहानगरपालिका वडा १०, ११, १२ साविक खनार र दुहबी ८ का गरी दश जनाको मृत्यु भएको हो।

घटनामा इटहरी वडा नम्बर १० का सात जनाको ज्यान गएको वडाध्यक्ष प्रकाश चौधरीले जानकारी दिएका छन् । माघ २३ गते तीर्थयात्रामा गएका नेपाली थीर्थयात्रु सवार बस भारतको सलेम बेंगलरु नेशनल हाइवेमा बिहीबार बिहान दुर्घटनामा परेको थियो । दुर्घटनामा इटहरी १०, ११ र १२ का गरेर १० जनाको ज्यान गएको ट्राफिक प्रहरी कार्यालय प्रदेश १ का प्रमुख एसपी भीमबहादुर दाहालले जानकारी दिएका छन् ।

मृत्यु हुनेमा ५६ वर्षका गोपाल तामाङ, ४६ वर्षका वीरबहादुर राई, ५० वर्षका टीकाराम चौधरी, ७० वर्षीय रसिलाल चौधरी, ६६ वर्षीया बुधनी थरुनी, ६५ वर्षीया फूलसरीदेवी चौधरी, ६५ वर्षीया मञ्जु राई रहेका छन् । त्यस्तै, पवनलाल चौधरी, भजनलाल चौधरी र केदार चौधरीको पनि मृत्यु भएको छ ।

बसमा ३४ जना यात्रु सवार थिए । ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो । अरुको उपचारको क्रममा मृत्यु भएको बताइएको छ ।