१६ चैत्र २०८०, शुक्रबार

छोरी अर्थात् महामारीमा देवी

doctor helping boy breath

‘छोरी बिग्रे नर्स छोरा बिग्रे कमर्स’ भनी हेला गरेर बोल्ने हाम्रो नेपाली समाजमा महामारीका समयमा भने दृष्टिकोण बदलिएको छ । छोरीलाई निकै भेद्भावपूर्ण व्यवहार गरिने नेपाली समाजमा महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण दृष्टिकोण बदलिएको हो । महामारीका समयमा दिनरात निद्रा, थकान, भोक, तिर्खा त्यागेर स्टाफ नर्सका रूपमा आफ्नो जिन्दगी जोखिममा राख्दै सेवा गरिरहेका छोरीहरुलाई महामारीमा देवीका रूपमा चित्रण गर्न थालिएको छ समाजमा यति बेला ।

समाजमा हेलाको पात्र बनेर बसेका छोरीहरूले महामारीका रूपमा फैलिएको कोरोना कहरमा आफ्नो जीवन बिरामीका लागि समर्पित गरेर नेपाली समाजको हेराइलाई परिवर्तन गरिदिएको सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थी बताउनुहुन्छ । यो समयमा आफ्नै जिन्दगी जोखिममा राखेर बिरामीलाई दिनरात, भोक प्यास केही नभनी सेवा तथा उपचारमा खटिनुभएका स्टाफ नर्स छोरीहरूलाई महामारीमा देवीका रूपमा आफूले पाएको अवस्थी बताउनुहुन्छ । “महामारीमा सबै आफ्नो ज्यान बचाउन लाग्छन् तर नर्स नानीहरू अस्पतालकै ग्यालरीमा सुतेर भए पनि बिरामीको सेवामा लाग्नुहुन्छ, त्यसैले त उहाँहरू बिरामी र हाम्रो समाजका लागि अहिलेको समयमा सञ्जीवनी बुटी साबित हुनुभएको छ”, अवस्थी भन्नुहुन्छ ।

निर्देशक अवस्थी न्यून पारिश्रमिक, कामको चाप, सेवा सुविधाको अभावबीच पनि नर्सहरू दिनरात बिरामीको सेवामा कटिबद्ध भएर लागेको देख्दा अस्पतालमा देवी माता आफैँ आएर उपचार गरिरहनुभएको झैँ लाग्ने गरेको बताउनुहुन्छ । लामो समयदेखि पटकपटक नर्सहरूको दुःख, पीडा र अवस्थाबारे बहस तथा छलफल हुने गरेको भए पनि अवस्थामा कुनै सुधार आउन नसक्दा भने दुःख लाग्ने गरेको उहाँको भनाइ छ ।

महामारीमा दिनरात बिरामीको सेवा गर्न पाउँदा आनन्द महसुस हुने गरेको कैलालीको सेती प्रादेशिक अस्पतालले सञ्चालन गरेको अस्थायी कोरोना अस्पतालमा खटिइरहनुभएकी स्टाफ नर्स सुषमा विक बताउनुहुन्छ । “हाम्रा धेरै गुनासा छन् तर महामारीको समयमा गुनासाहरूलाई थाँती राखेर सेवामा खटिनु हाम्रो धर्म हो”, उहाँ भन्नुहुन्छ, “छोरी भनेपछि हेला गर्ने हाम्रो समाजमा छोरी भएर जन्म लिएर यसरी सबैको सेवा गर्ने मौका सबैले कहाँ पाउँछन् र रु मैले पाएकी छु, आफूलाई भाग्यमानी ठान्दछु ।”

महामारी फैलिएदेखि नै परिवारका सदस्यबाट बिदा लिन बारम्बार गरिएको आग्रहलाई समेत नमानीकन बिरामीको सेवामा खटिनुभएकी अर्की स्टाफ नर्स एलिसा मगर यस्तो समयमा छुट्टी लिन आफ्नो आत्माले नदिएका कारण अस्पतालमै खटिएको बताउनुहुन्छ । “हाम्रो त सरकारी अस्पतालमा हो ठीकै छ तर निजी अस्पतालमा कार्यरत साथीहरूको कामअनुसारको तलब सुविधा खै रु”, उहाँ भन्नुहुन्छ, “नेताले जस्तो माग नगरीकन काममा लाग्नुभएको छ, अनि आफूहरू किन नलाग्ने रु”

महामारीमा बिरामीको सेवा गर्दै उहाँहरुको जीवन बचाउने अवसर पाएकामा आफूलाई गर्व लाग्ने गरेको बताउनुहुन्छ कैलालीको घोडाघोडी नगरपालिकाले सञ्चालन गरेको अस्थायी कोरोना अस्पतालमा कार्यरत स्टाफ नर्स ज्योति चौधरी । छोरीलाई हेला गर्ने समाजमा नर्स भएर ज्यान जोगाउँदा सम्पूर्ण छोरीप्रति गरिने सम्मानले नै आफ्नो कर्मलाई निरन्तरता दिने ऊर्जा मिल्ने गरेको चौधरीको भनाइ छ । ज्योति भन्नुहुन्छ, “अहिले जागिरेभन्दा बेरोजगार नर्सको सङ्ख्या धेरै छ । रोजगारी नपाउँदा र उचित पारिश्रमिक नपाउँदा नर्सहरू विदेशिने र काम छाड्ने क्रम पनि बढेको छ । राज्यले नर्सहरूको दुःख कष्ट बुझेर नर्स लक्षित विशेष कार्यक्रम ल्याए देशको स्वास्थ्य क्षेत्रलाई ठूलो मद्दत पुग्ने थियो ।”