१४ बैशाख २०८१, शुक्रबार

राजनितिक जोड घटाउ – १५३ भर्सेस १४९

oli with deuba 1024x550 1

नेपालको संसदीय इतिहासमा रोचक घटनाका रुपमा आजको दिन सदास्मरणीय हुनेछ । राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम बहुमतको सरकार आव्हान गर्दा दुईजना प्रतिनिधि सभा सदस्यले बहुमतको दाबी प्रस्तुत गरे । त्यो पनि हस्ताक्षरसहित ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति कार्यालयमा दाबी प्रस्तुत गर्दा पार्टीका तर्फबाट हस्ताक्षर गर्नु भयो । जनता समाजवादी पार्टीका तर्फबाट अध्यक्ष महन्थ ठाकुर र संसदीय दलका नेता राजेन्द्र महतोले संयुक्त हस्ताक्षर गरेको प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालले जनाउनु भएको छ। रिमालले एमालेका १२१ र जसपाको ३२ गरी १५३ सांसदको समर्थन ओलीलाई रहेको उल्लेख गर्नु भएको छ ।

रोचक पक्ष यो छ कि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा एमाले र जसपाको सांसदहरुको हस्ताक्षर पुगेर बहुमत सांसदको समर्थन रहेको भन्दै प्रधानमन्त्रीको दाबी पत्र बुझाउन राष्ट्रपति कार्यालय शितलनिवास पुग्नु भएको थियो । उहाँले १४९ प्रतिनिधि सभा सदस्यको हस्ताक्षरसहित पत्र बुझाउनु भएको थियो । हस्ताक्षरमा काँग्रेस र माओवादी केन्द्रका प्रतिनिधि सभा सदस्यबारे कुनै विवाद छैन । तर, ओलीको दाबीले एमाले र जसपाको सांसदहरुको हस्ताक्षरलाई विवादमा पारिदिएको छ ।

एमालेका केही सांसदले आफूहरुको हस्ताक्षर माधव नेपालले दुरुपयोग गरेको प्रतिक्रिया दिनु भएको छ । जसपाका १७ सांसदको हस्ताक्षर रहेको भनिएको छ । जबकि अध्यक्ष महन्थ ठाकुर र संसदीय दलको नेता बनाइएका राजेन्द्र महतोले हस्ताक्षर गरेर पार्टी संसदीय दलको साथ ओलीलाई रहेको दाबी छ ।

ओली र देउवा दुवैको दाबी पुगेपछि राष्ट्रपति भण्डारीले कुनलाई सदर मान्ननुहुन्छ चासोको विषय बनेको छ । उहाँले दलीय हिसाबले निर्णय लिनुन्छ या प्रतिनिधि सभा सांसदको हिसाबले निर्णय लिनुन्छ चाँडै निक्र्यौल हुन सक्छ ।

विश्वस्त स्रोतका अनुसार फेरि ओलीलाई नै बहुमत पुगेको भन्ने आधारमा प्रधानमन्त्री बनाउनुहुने छ । यसको तयारी शितलनिवासले गरिसकेको बुझिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले ६ जेठको साँझ संविधानको धारा ७६ को उपधारा ५ बमोजिम बहुमतको सरकार गठनका लागि प्रतिनिधि सभाका सदस्यहरुलाई आव्हान गर्नु भएको थियो । उहाँले आज साँझ ५ बजेको समयसीमा तोकेर सरकार गठनको आव्हान गर्नु भएको थियो । जुन समय सकिएको छ ।