६ बैशाख २०८१, बिहीबार

पूर्वमन्त्री यादवको निधन

nidhan th 673x375 1

पूर्व मन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी नेपालका नेता देवनारायण यादवको मंगलबार निधन भएको छ ।

धनुषाको मिथिलाबिहारी नगरपालिका वडा नं. २ बस्ने ८२ वर्षीय नेता यादव केही दिनदेखि बिरामी थिए । उनको मंगलबार राति ८ बजे निधन भएको परिवारजनले जनाएका छन् । उनी मन्त्रीजीको नाउँले चिनिन्थे । साबिकको मिथिलेश्वर निकास वडा नं. ३ बाट वडाध्यक्षमा निर्वाचित भएका नेता यादव गाविस अध्यक्ष, इलाका सदस्य हुँदै जिल्ला विकास समितिको सभापति समेत भएका थिए । उनी २०३९ सालमा सुर्य बहादुर थापाको सरकारमा केन्द्रिय कृषि मन्त्री भएका थिए ।

तत्कालीन संघीय समाजवादी फोरम, नेपालका राजनीतिक समिति सदस्य समेत रहेका उनले धनुषा जिल्लाको विकासमा महत्वपूर्ण योगदान गरेका थिए । उनकै पहलमा खाद्य संस्थान लगायतको कार्यालयहरु धनुषामा स्थापित भएको थियो । दुई दशक अघि पत्नीको निधन भइसकेको नेता यादवको चार छोरा र दुई छोरी रहेका छन् । जनता समाजवादी पार्टी नेपालका नेताहरुले बुधबार उनको पैतृक गाउँ पुरनदाहामा उनलाई पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए । उनको दाहसंस्कार बुधबार नै गरिएको छ । उनको निधनप्रति जसपा नेपालका नेताहरुले समवेदना प्रकट गरेका छन् । जसपा नेपाल केन्द्रिय कार्य समितिले बुधबार एक विज्ञप्ति जारी गरेर उनको निधनप्रति समवेदना प्रकट गरेको छ ।

प्रदेश र जिल्लाका नेताहरुले पनि समाजिक संजालमार्फत उनको निधनप्रति समवेदना प्रकट गरेका छन् ।