१३ बैशाख २०८१, बिहीबार

बादललाई भोट माग्दै प्रधानमन्त्री ओलीले भने, ‘पार्टी उम्मेद्वारलाई मतदान नगरे क्षम्य हुँदैन’

kp oli and ram bahadur thapa badal
फाइल फोटो

नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्रीसमेत रहेका पार्टीका नेता रामबहादुर थापा बादललाई राष्ट्रियसभा उपनिर्वाचनमा जिताउन आग्रह गरेका छन् । बुधबार अपिल जारी गर्दै सूर्य चिन्ह लिएर उम्मेद्वारी दिएका बादललाई मतदान गर्न पार्टी पंक्तिलाई आह्वान गरेका हुन् ।

बादल एमालेको उम्मेद्वार भएकाले पार्टी निर्णय बिपरीत मतदान नगर्न ओलीले चेतावनी पनि दिएका छन् । पार्टी उम्मेद्वारलाई मतदान नगर्नु एमाले पार्टीमा मात्रै नभएर बहुदलीय शासन प्रणालीमा पनि स्वीकार्य र क्षम्य नहुने अपिलमा उल्लेख छ । ‘‘पार्टी निर्णयको विपक्षमा उभिएर मत खसाउने जस्ता विषय हाम्रो जस्तो पार्टीमा त कल्पना बाहिरको कुरा हो । यस्ता प्रवृत्ति बहुदलीय शासन प्रणाली अवलम्बन गर्ने कुनै पनि पार्टीका लागि समेत स्वीकार्य या क्षम्य हुनै सक्दैनन्’, ओलीले उल्लेख गरेका छन् ।

‘जेठ ६ गते बागमती प्रदेशबाट प्रतिनिधित्व हुने राष्ट्रिय सभा सदस्यको रिक् पदमा कमरेड रामबहादुर थापा हाम्रो उम्मेदवार हुनुहुन्छ। उहाँ नेपालको कम्युनिष्ट आन्दोलनको एक जना वरिष्ठ नेता हुनुहुन्छ,’ ओलीले अपिल जारी गर्दै भनेका छन्, ‘उहाँको विजयले कम्युनिष्ट आन्दोलन भावनात्मक एकतामा समेत बल पुग्नेछ। तसर्थ यस निर्वाचनमा एकतावद्ध भएर आफ्ना पार्टीका उम्मेदवारलाई बिजयी बनाउनु हुन आग्रह गर्दछु ।’

पार्टीप्रति बफादार हुने सपथ लिएको भन्दै त्यसलाई पालना नगर्ने विन्दुमा पुग्ने कुरा अकल्पनीय भएको ओलीको भनाइ छ । ‘हामी सबैले पार्टी सदस्यता लिँदा, विभिन्न तहका जिम्मेवारी बहन गर्दा प्रत्येक पटक पार्टीप्रति वफादार हुने र पार्टी हितविपरीत काम नगर्ने सपथ लिई आएका छौं,’ ओलीले भनेका छन्, आफ्नै सपथ कुन स्वार्थ, के कारण वा कस्तो बाध्यताले हामी पालन नगर्ने बिन्दुमा पुग्छौं रु पार्टी जीवनमा यो अकल्पनीय हो, यसो हुनै सक्दैन ।’

एमालेभित्र देखिएको विवाद हल गर्ने प्रक्रियासँग समेत ओलीले बादलको उम्मेद्वारीलाई जोडेका छन् । कार्यदल बनेर काम शुरु भइसकेको अवस्थामा बादलको उम्मेद्वारीलाई चासो साथ हेरिएको उनको भनाइ छ । ‘अहिले पार्टीभित्र देखापरेका समस्याको समधान गरी पार्टीलाई एकताबद्ध बनाउनका लागि कार्यदल बनेर काम समेत शुरु भइसकेको छ । यस परिप्रेक्ष्यमा पार्टी एकतालाई सुदृढ गर्न योगदान गर्नु हामी सबैको कर्तव्य हो’, ओलीले लेखेका छन् ।

बादल २०७४ सालमा भएको निर्वाचनमा बादल नेकपा माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्य निर्वाचित भएका थिए । उनी नेकपा एमाले प्रवेशसँगै माओवादीले कारवाही गरेपछि पद रिक्त भएको थियो ।

oli apeel badal 1
oli apeel badal 2