४ बैशाख २०८१, मंगलवार

बाँस्कोटाको अडियो बाहिर्‍याउने मिश्रलाई पक्राउ गर्न लेखा समितिको साइबर क्राइम ब्यूरोलाई पत्र

Lekha Parliament

प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले सांसदहरूको चरित्र हत्या र संसदीय समितिको अपमान गरेको भन्दै दुईजनालाई पक्रेर कार्वाही गर्न प्रहरीसमक्ष उजुरी दिएको छ । 

लेखा समितिले विजयप्रकाश मिश्रलाई कारबाहीको लागि प्रहरीको साइबर क्राइम ब्यूरोलाई पत्राचार गरेको छ ।

मिश्रले गोकुल बास्कोटाको अडियो रेकर्ड गरेका थिए । मिश्रले एक अनलाईनमा दिएको अन्तर्वार्तामा लेखा समितिका सदस्यहरुको चरित्र हत्या गरेको भन्दै समितिले यस्तो पत्राचार गरेको हो ।

समितिको बिहीबारको बैठकमा नेकपा संसद सूर्य पाठकले सेक्युरिटी प्रेस खरिद प्रक्रियालाई अगाडि बढाउन सांसदहरू पनि भ्रष्टाचारमा संलग्न रहेको भनेर फेसबुकमा प्रभातकिशोर उपाध्यायले अफवाह फैलाएको भन्दै आपत्ति जनाएका थिए ।

फेसबुकमा चरित्र हत्या हुने गरी पोष्ट गरेको भन्दै समितिले प्रभात किशोर उपाध्यायलाई पनि कारबाहीको लागि पत्राचार गरेको छ। समितिले मिश्र र उपाध्याय दुबैलाई कारबाही गरेर प्रतिवेदन बुझाउन समेत निर्देशन दिएको छ।

उपाध्यायले सांसदहरूका नाम र तस्बिरसहित कसले कति रकम लियो भनेर आफ्नो फेसबुक अकाउन्टमा लेखेका थिए ।

जर्मन कम्पनीलाई सार्वजनिक लेखा समितिले सेक्युरिटी प्रेस नेपालमा स्थापना गर्न दिन लागिएको थियो भनेर बोलेकोमा पनि पक्रेर अनुसन्धान गर्न समितिले भनेको छ । 

समिति सभापति भरतकुमार शाहको निर्देशनपछि सचिवालयले प्रहरीलाई पत्र लेखेको हो ।

l1