६ बैशाख २०८१, बिहीबार

बिरामीको मृत्यु भएपछि फाप्लु अस्पतालमा तोडफोड, एक जना पक्राउ

186466635 134575192039262 3708626109591961382 n2021 05 13 05 16 40

तीन वर्षीय बालकको मृत्युपछि जिल्ला अस्पताल फाप्लुमा तोडफोड भएको छ । सोलुदुधकुण्ड नगरपालिका–४ सुर्केका ङिमानुरु शेर्पाको उपचार ढिला हुँदा ज्यान गएको भन्दै आफन्तले अस्पतालको आकष्मिक कक्षमा तोडफोड गरेका हुन् ।

तोडफोडमा उत्रेका एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतक बालकका नाताले काका पर्नेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक ऋषीराज ढकालले जानकारी दिनुभयो ।

पखलाका बिरामी शेर्पालाई उपचारको लागि बुधबार फाप्लु अस्पताल ल्याईएको भएपनि चिकित्सकले राम्रो चेकजाँच नगरि औषधी लेखर तत्काल घर पठाएको आफन्तको गुनासो छ ।

बिरामीको अवस्था बिग्रदैगएपछि आज (विहिबार) बिहान पुनः ७:३० बजे अस्पताल आएको भएपनि समयमानै उपचार सूरु नगरेको आफन्तको दावी छ । अस्पतालले लेखिदिएको औषधी लिनको लागि दोर्पु सम्म पुग्दा ढिला भएको मृतक बालकका बुबा दावा गेलु शेर्पाले बताउँनुभयो । औषधी लिएर अस्पताल पुग्दा चिकित्सकले स्लाईनपानी दिएको भएपनि बेलैमा उपचार नगरेको शेर्पाको दावी छ ।

तर जिल्ला अस्पताल फाप्लुका निमित्त प्रमुख शानी शेर्पाले भने बुधबार अस्पतालले दिएको औषधी सेवन नगर्दा अवस्था जटिल बनेको बताउँनुभयो । औषधीको सट्टा फ्रुटी लगायतका खानेकुरा खुवाउनका साथै अवस्था जटिल भएपछि तत्काल अस्पताल नआउँदा बालकको मृत्यु भएको अस्पतालको दावी छ ।

बिरामीलाई अस्पताल ल्याउने बित्तिकै आकष्मिक भर्ना गरि उपचार सूरु गरिएको अवस्थामा बिहान ११ः३० बजे उपचारकै क्रममा उनको मृत्यु भएको निमित्त प्रमुख शेर्पाले बताउँनुभयो ।

मृतक बालकका आफन्तले भने स्वास्थ्यकर्मीले चाडै उपचार सेवा दिएको भए ज्यान बच्ने भन्दै तोडफोडमा उत्रेपछि तनाब सृजना भएको थियो । आफन्तको इटा प्रहारपछि अस्पतालका स्वास्थ्यकर्मी भागेर बचेको निमित्त प्रमुख शेर्पाले बताउँनुभयो ।

आकष्मिक कक्ष सहित अन्य उपचार सामाग्रीमा क्षती पुगेपनि एक्कीन विवरण आउँन बाँकी रहेको अस्पतालले जनाएको छ । आफन्तले बालकको शव नबुझेपछि अस्पतालमै राखिएको छ । त्यस विषयमा केही पनि वार्ता नभएको अस्पतालले जनाएको छ ।

    सम्बन्धित समाचार...