१५ चैत्र २०८०, बिहीबार

काठमाण्डौमा बिजुलीका तार भूमिगत गर्ने काम आजदेखि

bijulitar

नेपाल विद्युत प्राधिकरणले सोमबारदेखि तार भूमिगत गर्ने कामको थालनी गर्दैछ । तार भूमिगत गर्ने कामको प्रधानमन्त्री केपी शर्मा ओलीले महाराजगञ्जबाट औपचारिक उद्घाटन गर्ने भएका छन्। विद्युत प्राधिकरणले पहिलो चरणमा महाराजगञ्ज र रत्नपार्क बितरण केन्द्र अन्तर्गतका तार भूमिगत गर्दैछ ।

काठमाडौं उपत्यकाको विद्युत वितरण प्रणाली तथा सुदृढीकरणका लागि बिजुलीको तार भूमिगत गर्न लागिएको हो। प्राधिकरणले बिजुली वितरण भूमिगत गर्न सडक विभागबाट स्वीकृति लिएपछि यो कामको शुरु गर्न लागेको हो। अन्डरग्राउन्डको काम आजै बाट शुरु हुने विद्युत प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले बताए।

उनले भने, हामीले मुख्य गरी बिजुलीका तार अन्डरग्राउन्ड गर्दैछौं, तर हाम्रो लाइनमा अरु सेवा प्रदायकका सबै तार अन्डरग्राउन्ड हुनेछन्, तारकै कारण कुरुप बनेको सहर सफा हुनेछ’।

सडक खनेको १० दिनमै पहिलेको जस्तै अवस्थामा ल्याउने गरी सडक विभागसँग समझदारी गरेको पनि उनले जानकारी दिए । एकैपल्ट जताततै सडक खन्दैनौं,२ र ४ किलोमिटर खन्दै, पीच गर्दै काम हुन्छ, त्यसमाथि व्यवस्थित हिसाबले खन्ने हुँदा पहिले जस्तो धुलो धुँवा हुने गरी खन्दैनौं’।

तार अन्डरग्राउन्ड गर्दा पहिलेजस्तो माथिबाटै भताभुङ्ग हुनेगरी नखन्ने र मुसाले दुलो पारेजस्तै गरी अर्थात होराइजेन्टल जेन्टलन डाइरेक्सनल ड्रिलिङ प्रबिधीको प्रयोग हुनेछ ।

तार भूमिगत गर्न भारतको केइआइकके कम्पनीले ठेक्का पाएको छ। रत्नपार्क र महाराजगञ्ज स्मार्ट कम्युनिकेसनुको क्षेत्र भएकाले पहिलो चरणमा भूमिगत गर्न लागिएको प्राधिकरणले जनाएको छ। विद्युत वितरण प्रणालीलाई भूमिगत गर्न एसियाली विकास बैंक (एडिबी) ले १५ अर्ब रुपैयाँ ऋण सहयोग गरेको छ।

महाराजगञ्ज वितरण केन्द्रका तार अन्डरग्राउन्ड गर्न २ करोड ५५ लाख ८१ हजार अमेरिकी डलर र १ अर्ब १ करोड ७० लाख रुपैयाँमा तथा रत्नपार्क वितरण केन्द्रका तार अन्डरग्राउन्ड गर्न २ करोड २९ लाख डलर र ८३ करोड १५ लाख रुपैयाँमा सम्झौता भएको छ ।

पहिलो चरणमा दुई वटा वितरण केन्द्र अन्तर्गत ९० हजार ग्राहकको घरसम्म तार अन्डरग्राउन्ड गरिसकेपछि अरु ठाउँमा पनि काम थाल्ने प्राधिकरणको तयारी छ।