२६ बैशाख २०८१, बुधबार

क्यान्सर अस्पतालले शुरु गर्‍यो कोभिड वार्ड

bp koirala bharatpur

विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कोभिड वार्ड सञ्चालनमा ल्याइएको छ ।

क्यान्सरको उपचार गर्न आउने बिरामी र काम गर्ने चिकित्सक स्वास्थ्यकर्मीलाई कोरोना भाइरस सङ्क्रमण देखिएमा राख्न मिल्ने गरी वार्ड सञ्चालनमा ल्याइएको हो ।

अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमका अनुसार हाललाई १५ शय्या तयार गरिएको छ । सोही ठाउँमा विस्तार गरेर २० शय्यासम्म पुर्‍याउन सकिने छ । देशैभरिबाट क्यान्सरका बिरामी आउने र उनीहरुमा कोरोना भाइरसको सङ्क्रमणको उच्च जोखिम रहने हुँदा वार्ड तयार गरिएको उहाँले बताउनुभयो ।

अस्पताल आउने बिरामी र कुरुवालाई अनिवार्य पिसिआर परीक्षण गर्नुपर्ने व्यवस्था अस्पततालले गरेको छ । अस्पतालका सूचना अधिकारी गिरिनारायण महतोले कामको सिलसिलामा चिकित्सक कर्मचारीलाई सङ्क्रमण भए पनि सोही वार्डमा राखेर उपचार गर्ने व्यवस्थाा गरिएको बताउनुभयो ।

हाल अस्पतालमा कार्यरत १४ चिकित्सक कर्मचारीलाई सङ्क्रमण देखिएको छ । उनीहरु अधिकांश होम आइसोलेशनमा रहेका छन् ।

यससँगै जिल्लाको सरकारी भरतपुर अस्पताल र दुई मेडिकल कलेजमा सङ्क्रमितको उपचार हुँदै आएको छ ।