१५ चैत्र २०८०, बिहीबार

फिफा विश्वकप छनौटका लागि ३१ सदस्यीय प्रारम्भिक टोली, विमल, किरण र रोहितलाई बाहिरै राखेर घोषणा

Nepali Football team

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिनले चैतमा हुने विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ छनोटअन्तर्गत अस्ट्रेलियाविरुद्धको खेलका लागि ३१ सदस्यीय प्रारम्भिक टोलीलाई बन्द प्रशिक्षणमा बोलाएका छन्।

अस्ट्रेलियाविरुद्ध क्यानाबेरामा गत असोजमा भएको पहिलो लेगमा ५-० को पराजय बेहोरेको नेपालले चैत १८ गते घरेलु मैदानमा उही टोलीको सामना गर्दैछ। घरेलु फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता ‘ए’ डिभिजन लिग सकिएकै दिन स्वीडिस प्रशिक्षक कालिनले प्रारम्भिक टोलीलाई प्रशिक्षणमा बोलाएका हुन्।

यसअघि राष्ट्रिय टोलीमा खेलिसकेका, नियमित सदस्य र नवप्रवेशीसहितलाई समेटेर कालिनले प्रारम्भिक टोलीको घोषणा गरेका हुन्।

अस्ट्रेलियाविरुद्धको खेलअघि चैत १३ गते सोही छनोटअन्तर्गत चाइनिज ताइपेइसँग नेपालले खेल्ने छ। यसअघिका पाँचमध्ये ४ खेलमा पराजित नेपालले चाइनिज ताइपेइलाई २-० ले पराजित गरेको थियो। सोही खेलमा नेपालका लागि दुवै गोल गरेका अञ्जन बिष्ट अखिल नेपाल फुटबल संघ (एन्फा)ले गरेको कारबाही भोगेर राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन्।

यसै छनोटअन्तर्गत कुवेतविरुद्धको खेलका लागि भुटान जाने अघिल्लो रात दिनेश राजवंशी, सन्तोष तामाङ, विमल घर्ती मगर र अञ्जनले डिस्को गएका कारण अनुशाषन उल्लङ्घनको कारबाही भोगेका थिए। राष्ट्रिय टोलीका निरन्तर सदस्य रहेर राष्ट्रिय टोलीबाट निलम्बनमा परेका चार खेलाडीमध्ये अञ्जनले मात्रै टोलीमा पुनरागमन गर्दा विमल, दिनेश र सन्तोष कालिनको नजरमा परेनन्।

३१ सदस्यीय टोली

गोलकिपरः विकेश कुथु, विशाल श्रेष्ठ, एलान न्यौपाने
डिफेन्डर : रजिन धिमाल, सुमन अर्यायल, अमित तामाङ, सरोज दाहाल, अजित भण्डारी, छिरिङ गुरुङ, विकाश खवास, अनन्त तामाङ, देवेन्द्र तामाङ, दिलेन लोक्तान

मिडफिल्डरः विशाल राई ‘बी’, सेसेशाङ आङ्देम्बे, तेज तामाङ, विक्रम लामा, सुवास गुरुङ, मिक्छेन तामाङ, पुजन उपरकोटी, एरिक विष्ट, सुजल श्रेष्ठ, रवि पासवान, सुनिल बल, अञ्जन विष्ट

फरवार्डः जर्जप्रिन्स कार्की, दर्शन गुरुङ, भरत खवास, नवयुग श्रेष्ठ, आशिष लामा, विमल राना