१५ चैत्र २०८०, बिहीबार

२४ घण्टामा कर्णालीमा आठ कोरोना सङ्क्रमितको मृत्यु

corona death
फाइल फोटो

कोभिड–१९ को सङ्क्रमणबाट कर्णालीमा आठ कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले स्वास्थ्य सेवा निर्देशनालयले आज प्रेस विज्ञप्ति जारी गर्दै पछिल्लो २४ घण्टामा आठ कोरोना सङ्क्रमितको मृत्यु भएको जनाएको छ ।

मृत्यु हुनेमा पञ्चपुरी नगरपालिका–५ सुर्खेतका ६३, वीरेन्द्रनगर नगरपालिका–१ सुर्खेतका ४५, वडा नं. ८ का ६३, वडा नं. ११ का ५३ र १२ नं. वडाका ४० वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य सेवा निर्देशनालयका निमित्त निर्देशक डा रविन खड्काले जानकारी दिनुभयो । त्यस्तै सिद्धकुमाख गाउँपालिका–२ सल्यानका ४२, मुसिकोट नगरपालिका–४ रुकुमपश्चिमका ६० वर्षीय पुरुष र नारायण नगरपालिका–६ दैलेखका २७ वर्षीया महिलाको मृत्यु भएको निमित्त निर्देशक डा खड्काले बताउनुभयो ।

मृत्यु भएका सुर्खेतका तीन व्यक्तिमा आरटी पिसीआर र बाँकी अन्य जिल्लाका पाँच जनामा एन्टिजेन पोजेटिभ देखिएको उहाँले जनाउनुभयो । निर्देशनालयका अनुसार प्रदेश अस्पतालमा चार, सल्यान जिल्ला अस्पताल, रुकुमपश्चिम र दैलख जिल्ला अस्पतालमा एक-एकको मृत्यु भएको हो । कर्णालीमा एकै दिन आठ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको भने यो पहिलो घटना हो । मृतक सबैको जनस्वास्थ्य सेवा कार्यालयको समन्वयमा नेपाली सेनाले शव व्यवस्था गरिरहेको बताइएको छ ।

आज थपिएसँगै कर्णालीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४७ पुगेको छ । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा आरटी पिसीआर परीक्षणमा १०८ र एन्टिजेन परीक्षणबाट १४३ गरी कूल २५३ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

यो सँगै कर्णालीमा आरटी पिसीआर परीक्षणबाट कोरोना सङ्क्रमित हुनेको सङ्ख्या आठ हजार ५६७ र एन्टिजेन परीक्षणबाट ७८० जना पुगेको निर्देशनालयले जनाएको छ ।

    सम्बन्धित समाचार...