१६ चैत्र २०८०, शुक्रबार

निषेधाज्ञाको दोश्रो दिन आन्तरिक उडान ह्वात्तै घट्यो

Kathmandu Airport

काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञाको असर मुलुकको आन्तरिक हवाई उडानमा देखिएको छ ।

अघिल्ला दिनको तुलनामा विमानस्थलको आन्तरिक उडान ह्वात्तै घटेको छ । निषेधाज्ञाको दोस्रो दिन आज मात्रै ७७ उडान भएका विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका महाप्रबन्धक प्रतावबाबु तिवारीका अनुसार आज कूल ७७ उडान भएका छन् ।

बुद्ध एयरका ३५, यती एयरलाइन्सका २०, श्री एयरलाइन्सका १२, तारा एयरका चार तथा नेपाल एयरलाइन्सका चार उडान भएका छन् । बिहिबारको तुलनामाा यो सङख्या आधाभन्दा कम हो । शनिबार यो सङ्ख्या अझ घट्ने बताइएको छ । शनिबारका लागि ६५ उडान निर्धारण गरिएको महाप्रबन्धक तिवारीले बताउनुभयो ।

निषेधाज्ञा शुरु भएको पहिलो दिन बिहिबार विमानस्थलमा आन्तरिक तर्फ कूल २०८ उडान मार्फत आठ हजार २६९ यात्रुले हवाई यात्रा गरेका छन् । यी मध्ये काठमाडौँबाट पाँच हजार ४५३ हवाई यात्रु बाहिरिएका छन् भने दुई हजार ८१६ हवाई यात्रु काठमाडौँ भित्रिएका विमानस्थलले जनाएको छ । विमानस्थलले उपलब्ध गराएको तथ्याङ्क अनुसार बिहिबार सबैभन्दा बढी बुद्ध एयरले ९६ उडानबाट चार हजार २८ यात्रुलाई हवाई सेवा दिएको थियो ।

यती एयरलाइन्सले ५२ उडान गरेको थियो । ती उडानबाट दुई हजार ४५७ यात्रुलाई गन्तव्यमा पुर्‍याइएको छ । त्यसैगरी श्री एयरलाइन्सले एक हजार ४८४, तारा एयरले ११३, समिट एयरले ८३ र नेपाल एयरलाइन्सले १०४ यात्रुलाई सेवा दिएको विमानस्थलले जनाएको छ । निषेधाज्ञाको अघिल्लो दिन सर्वाधिक १४९ उडानमार्फत १५ हजार २६३ यात्रुले सेवा लिएका थिए ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आन्तरिकतर्फ १० हेलिकप्टर कम्पनी सहित २० वायु सेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् ।