८ बैशाख २०८१, शनिबार

हिमाल सफा गर्दा सेनाले भेट्टायो दुई शव र हेलिकप्टरको अवशेष

Nepal army air dynasty helicopter parts dhaulagiri

हिमाल सफा गर्ने क्रममा दुईवटा शव र हेलिकप्टरको अवशेष फेला परेको छ । सफा हिमाल अभियान अन्तर्गत बुधबार धवलागिरि आधार शिविरदेखि २०० मिटर दक्षिणतर्फ हिमाल आरोहणका लागि प्रयोग हुने उपकरण सहित दुई मानव अवशेष फेला परेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सोही आधार शिविरबाट एक किमीको दूरीमा रहेको इटाली आधार शिविर नजिक नाइनएन–एसीआर लेखेको हेलिकप्टरको टुुक्रा फेला परेको जानकारी दिइएको छ । मृतकको पहिचान नखुलेकाले छानविन भइरहेको तथा हेलिकप्टर भने एयर डायनेष्टिकको सन् २००६ मा दुर्घटना भएको अवशेष रहेको प्रारम्भिक जानकारी प्राप्त भएको सेनाले जनाएको छ ।

ती मानव अवशेष व्यवस्थापन सम्बन्धमा सम्बन्धित निकायसँग समन्वयको प्रक्रिया शुरु गरिएको जानकारी दिइएको छ । सगरमाथा सहित छ हिमाल सफाइ गर्ने उद्देश्यका साथ सञ्चालित उक्त अभियानमा खटिएको टोलीले स्थानीय सरकार, सम्बद्ध सङ्घसंस्था एवं स्थानीयवासीसँग आवश्यक समन्वय तथा सहकार्य गरी फोहर सङ्कलन गरिरहेको छ ।

यही वैशाख १२ गतेदेखि शुरू गरिएकामा आजसम्म आइपुग्दा सड्ने-कुहिने ३५५ किलो र नसड्ने चार हजार ७९९ किलो फोहर सङ्कलन गरिएको सेनाले जनाएको छ ।