८ बैशाख २०८१, शनिबार

त्रिकाल बुद्धका पुरातात्विक मूर्ति चोरी

kaike

काइके गाउँपालिका–१ टाछिङ खागर बौद्ध गुम्बामा रहेका ऐतिहासिक महत्वका मूर्ति हराएका छन् ।

मन्दिरमा रहेका त्रिकाल बुद्धका दुई थान मूर्ति हराएको वडाध्यक्ष छिरिङ तन्दुरुप लामाले जानकारी दिनुभयो । उपल्लो डोल्पामा बहुमूल्य मूर्ति हराउने क्रम बढेसँगै चिन्ता समेत बढाएको छ । तीन/चार सय वर्ष पहिला राखिएका उक्त मूर्ति हराएको अध्यक्ष लामाले बताउनुभयो ।

चैत २४ गते स्थानीयवासीले मन्दिरमा पूजा गरेर फर्किएर फेरि मङ्गलबार घेगा पर्वको अवसरमा लिङ्गो चढाउन जाँदा मन्दिरको ढोका खुला देखेर हेर्न जाँदा मूर्ति हराएको पत्ता लागेको अध्यक्ष लामाले जानकारी दिनुभयो । मूर्ति खोजी गरिदिन प्रशासनसँग स्थानीयवासीले गुहार मागेपछि बुधबार नै प्रहरी घटनास्थल तर्फ पठाएको प्रमुख जिल्ला अधिकारी माधव ढकालले जानकारी दिनुभयो ।

बीस वर्ष पहिले पनि यहाँका मूर्तिहरू हराएको तर भोलिपल्टै मन्दिरको नजिकै फेला परेको प्रजिअ ढकालले जानकारी दिनुभयो । अहिले हराएका मूर्ति सबैभन्दा ठूलो भएको बताइएको छ ।

    सम्बन्धित समाचार...