fbpx
३ जेष्ठ २०७८, सोमबार

पार्टी विभाजन होइन सङ्गठित बनाउन लागेको छु: नेता नेपाल

पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता माधबकुमार नेपालले आफू पार्टीलाई बलियो बनाउने अभियानमा लागेको बताउनुभएको छ । पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले आफूलाई पार्टी फुटाउन खोजेको आरोप लगाइएको बताउनुभयो ।

आफूहरु पार्टीलाई बलियो बनाउने अभियानमा लागेको बताउँदै उहाँले भन्नुभयो, “हामी पार्टी बलियो बनाउने अभियानमा जुटेका छौँ । पार्टी फुटाउन खोज्यो भन्नुहुन्छ बा ।” अर्को पार्टी बनाएको आरोपको खण्डन गर्दै उहाँले थप्नुभयो, “कहाँबाट पार्टी फुटाउनु । हामी यो पार्टीका कार्यकर्तालाई लाखापाखा हुन दिदैनौं । एकताबद्ध बनाउँछौं । सही विचारको पक्षमा उभिने बनाउँछौं ।”

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताबद्ध बनाउनुपर्ने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “उहाँले समस्याको कारण खोजी पहिचान गरेर गम्भीरतापूर्वक सोच्नुपर्छ भन्ने मेरो धारणा हो ।”

आफू र ओली बीचको एकता सम्भव रहेको बताउँदै उहाँले अध्यक्ष ओलीले फागुन २८ गतेको निर्णय फिर्ता लिएर विसं २०७५ जेठ २ गतेको अवस्थामा फर्कनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “पार्टी विभाजन भएको छैन । लचिलो बन्नु पर्‍यो भन्ने कुरा हो ।”