१३ बैशाख २०८१, बिहीबार

धुलिखेल मालपोत कार्यालयबाट बार अनुसार सेवा दिइने

Dhulikhel

मालपोत कार्यालय धुलिखेल काभ्रेपलाञ्चोकले बुधवारदेखि बारअनुसारको सेवा दिने भएको छ ।

कोरोना भाइरसको सङ्क्रमण फैलिरहेका अवस्थामा सेवाग्राहीको बढी भीडभाड हुने भएकाले बारअनुसार सेवा दिने तयारी गरिएको कार्यालयले जनाएको छ । मालपोत कार्यालय धुलिखेलका निमित्त प्रमुख टङ्प्रसाद चौलागाईँले कार्यालयबाट एकै पटक सेवा प्रवाह गर्दा कोभिड –१९ सङ्क्रमणको बढी जोखिम हुन सक्ने अवस्थालाई ध्यानमा राखी सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी जिल्लास्तरीय कमाण्ड पोष्टको समन्वयमा स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै सेवा प्रवाह गर्न लागिएको बताउनुभयो ।

मालपोत अधिकृत चौलागाईँका अनुसार बनेपा र नमोबुद्ध नगरबासीले आइतबार र बुधबार, पनौती र मण्डनदेउपुर नगरबासीले सोमबार र बिहीबार तथा धुलिखेल र पाँचखाल नगरबासीले मङ्गलबार र शुक्रबार सेवा लिन पाउने व्यवस्था गरिएको छ ।

गाउँपालिकाका सेवाग्राहीले भने हरेक दिन सेवा लिन पाउने व्यवस्था गरिएको चौलागाईँले बताउनुभयो । यसअघि पनि कार्यालयले कोरोना सङ्क्रमण फैलन सक्ने अवस्थालाई ध्यानमा राख्दै बारअनुसार सेवा प्रवाह गरेको थियो ।