६ बैशाख २०८१, बिहीबार

तिलोत्तमामा आइसोलेशन सेन्टर तयारी

tilotama municipality

तिलोत्तमा नगरपालिकाले आफ्नै सक्रियतामा निर्माण गरेको आइसोलेशन सेन्टरलाई तयारी अवस्थामा राखेको छ ।

गत वर्षको कोरोना महामारीका समयमा निर्माण गरिएको आइसोलेशन सेन्टरमा आवश्यक उपकरण व्यवस्थापन गरेर तयारी अवस्थामा राखिएको नगरपालिकाका कोरोना स्थानीय स्रोत व्यक्ति तथा जनस्वास्थ्य निरीक्षक केशव भट्टराईले जानकारी दिनुभयो । कोरोना सङ्क्रमणको पूर्व तयारी अन्तर्गत नगरपालिकाले शङ्करनगर स्वास्थ्य चौकीमा आइसोलेशन सेन्टर सञ्चालनमा ल्याएको हो ।

नियमित प्रवाह हुँदै आएको सेवालाई वडा नं २ को कार्यालयमा स्थानान्तरण गरी स्वास्थ्य चौकीलाई आइसोलेशन सेन्टरका रुपमा तयार गरिएको जानकारी उहाँले दिनुभयो । बुटवल कोरोना अस्पतालका चिकित्सक तथा प्राविधिकको निगरानी र परामर्शका आधारमा तिलोत्तमाले गत वर्ष आइसोलेशन सेन्टर निर्माण गरेको थियो ।

कोरोना महामारीको पहिलो लहरमा यहाँ बुटवलको धागो कारखाना स्थित कोरोना अस्पतालले पठाएका बिरामीलाई समेत राखिएको थियो । बीस श्ययाको सेन्टरमा एक तहको कोरोना अस्पतालको सम्पूर्ण सुविधा रहेको जनस्वास्थ्य निरीक्षक भट्टराईले जानकारी दिनुभयो । सेन्टरमा सघन उपचार कक्ष र भेन्टिलेटरको सुविधा नचाहिने कोरोनाका बिरामी तथा कोरोना सम्भावित सबै प्रकारका बिरामीको उपचार गर्न सकिने छ ।

केन्द्रमा बिरामीको २४सै घण्टा सेवा दिने गरी स्वास्थ्यकर्मीको व्यवस्थापन गरिएको छ । कोरोना महामारीबाट नगरवासीलाई बचाउन नगरपालिकाले गत वर्षदेखि नै आफ्नै स्रोतमा चिकित्सक तथा स्टाफ नर्स नियुक्त गरेको थियो । बुटवल कोरोना अस्पतालले पठाएका जुन कुनै पनि ठाउँका बिरामीलाई समेत सेन्टरमा राखेर उपचार गरिने छ । पछिल्लो तथ्याङ्क अनुसार कोरोनाको दोस्रो लहर चल्दै गर्दा तिलोत्तमामा दिन प्रतिदिन सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ ।

शनिबारसम्मको तथ्याङ्कअनुसार नगर क्षेत्रमा १५३ सक्रिय सङ्क्रमित रहेका छन् । भेरी अस्पताललाई सहयोग जुट्दै नेपालगञ्ज स्थित भेरी अस्पतालमा कोरोना सङ्क्रमित बिरामीको उपचारमा समस्या देखिएपछि धमाधम सहयोग जुट्न थालेको छ । गम्भीर प्रकृतिका बिरामीलाई उपचारमा आवश्यक अक्सिजन ग्यासको समेत अभाव भएको जानकारी हुनासाथ सहयोग जुट्न थालेको हो ।

सङ्क्रमण अस्वभाविक रुपमा बढ्न थालेपछि कोभिड आइसोलेशनमा श्ययासँगै अक्सिजनको समेत अभाव शुरु भएको थियो । गम्भीर प्रकृतिका सङ्क्रमितको उपचारका लागि आवश्यकपर्ने अक्सिजन बाँके क्षेत्र नं २ का सांसद तथा पूर्वशहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले उपलब्ध गराउने हुनुभएको छ ।

अक्सिजनको कमी हुन थालेको र गम्भीर प्रकृतिका बिरामीको उपचारमा समस्या भइरहेको खबर बाहिर आएपछि उहाँले पाँच हजार थान अक्सिजन सिलिन्डर उपलब्ध गराउन लाग्नुभएको हो । आफ्नो निर्वाचन विकास कोषबाट रकमान्तर हुने गरी कोरोना सङ्क्रमितको उपचारका लागि आवश्यकपर्ने अक्सिजन उपलब्ध गराउने निर्णय गरेको राईले जानकारी दिनुभयो ।

कोरोना सङ्क्रमित बिरामीलाई आवश्यक अक्सिजन खरीदका लागि शनिबार राष्ट्रिय युवा सङ्घ बाँकेले भेरी अस्पताललाई रु एक लाख ३२ हजार ७५० हस्तान्तरण गरेको छ । अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले अक्सिजन खरीदका लागि राष्ट्रिय युवा सङ्घले गरेको रकमले धेरै बिरामीको ज्यान जोगिन सहयोग पुगेको जनाउँदै आभार व्यक्त गर्नुभयो ।

उहाँले उक्त रकम अक्सिजन खरीदमै उपयोग गर्ने प्रतिबद्धतासमेत जनाउनुभयो । शुक्रबार मात्रै नेपालगञ्ज उपमहानगरपालिका वडा नं ४ का अध्यक्ष सफिक वेहनाले बिरामीलाई अक्सिजन खरीदका लागि रु दुई लाख सहयोग गर्नुभएको थियो भने नेपालगञ्जका सामाजिक अभियानकर्मी हेमन्त काफ्लेले सञ्चालन गरेको अभियानअन्तर्गत रु तीन लाख बढी रकम सङ्कलन भएको छ ।

विभिन्न सङ्घ संस्था र मनकारी व्यक्तिको सहयोगबाट तत्कालका लागि बिरामीलाई चाहिने अक्सिजनको अभाव टरे पनि कोभिड अस्पतालमा आवश्यक श्यया र जनशक्ति नहुँदा सबै बिरामीलाई भर्ना गर्नसक्ने अवस्था नरहेको भेरी अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा प्रकाश थापाले बताउनुभयो ।