१४ बैशाख २०८१, शुक्रबार

बाँकेमा कोरोनाबाट हालसम्म १८० को मृत्यु, ८६ जना सिकिस्त

covid patient dead body
फाइल फोटो

बाँकेमा कोरोना सङ्क्रमणका कारण हालसम्म १८० जनाको मृत्यु भएको छ ।

पछिल्लो पटक आज बिहान कोहलपुर नगरपालिका–१० निवासी ३६ वर्षीय पुरुषको शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा बिहान २:३० बजे मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बितेको २४ घण्टामा बाँकेका अस्पतालमा उपचाररत पाँच महिला र तीन पुरुष गरी आठ जनाको मृत्यु भएको छ ।

बाँकेमा आजसम्म कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेका ८० र बाहिरी जिल्लाबाट उपचारका लागि अस्पतालमा आएका १०० गरी १८० जनाको मृत्यु भएको हो । हालसम्म मृत्यु हुनेमा बाँकेका ३३ महिला र ४७ पुरुष रहेका छन् भने बाहिरी जिल्लाबाट उपचारका लागि यहाँ आएका २५ महिला र ७५ पुरुषको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेको तथ्याङ्कले देखाएको छ ।

बाँकेमा हाल दुई हजार १२८ सक्रिय सङ्क्रमित मध्ये सात जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । छयासी सिकिस्त छन् भने १९८ को अवस्था सामान्य छ । तीमध्ये ८३ महिला र ९८ पुरुष गरी १८१ जनाको भेरी अस्पतालको कोभिड आइसोलेसनमा उपचार भइरहेको छ ।

यसैगरी २४ महिला र ३१ पुरुष गरी ५५ जनाको शिक्षण अस्पताल कोहलपुर, छ महिला ३३ पुरुष गरी ३९ जनाको ह्वाइट हाउस आइसोलेसन र नौ पुरुषको कोहलपुर नगरपालिकाको कोभिड आइसोलेसनमा उपचार भइरहेको छ ।

बाँकेमा एक हजार ९८० होम आइसोलेसनमा रहेको स्रोत व्यक्ति वलीले जानकारी दिनुभयो । उहाँका अनुसार बाहिरी जिल्लाबाट आएका १३६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।