८ बैशाख २०८१, शनिबार

सिन्धुपाल्चोकमा २०० जना बिरामी कोरोनाको गलत हल्ला,मौसमी रुघाखोकी हो : स्वास्थ्य मन्त्रालय

helth ministry office nepal

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले सिन्धुपाल्चोकको जुगल गाउँपालिका-३ गुम्बामा मौसमी रुघाखोकी भएको बताएका छन्। बुधबार पत्रकार सम्मेलनमा बोल्दै रुघाखोकी भएको बताएका हुन्। उनले भने ‘भाइरलको प्रकोप हो। विशेषज्ञ टोली नमूना परीक्षणकालागि जाने भएका छन। अहिलेसम्मको रिपोर्टका आधारमा कोरोना भाइरसको संक्रमण होइन।’

गाउँपालिकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलमा कोरोना भाइरसको आशंका गर्दै मंगलबार पत्राचार गरेको थियो। कोरोना भाइरसको लक्षणसँग मिल्ने रूघाखोकी, अत्याधिक ज्वरोका बिरामी बढेको पत्रमा मन्त्रालयलाई पठाएको पत्रमा उल्लेख छ।

यसैबीच जिल्ला विपद व्यवस्थापन समिति सिन्धुपाल्चोकले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै कोरोना भाइरस नभई मौसमी रुघाखोकी भएको जनाएको छ। गाउँमा ठूलो परिणाममा भाइरलको औषधी नहुँदा बिरामीको संख्या बढेको प्राथमिक स्वस्थ्य केन्द्र जलबिरेका डा. पिताम्बर खनालले बताए। गाउँमा औषधि पुर्‍याएपछि बिरामीहरु निको हुँदै गएको उनले जानकारी दिए।

सदरमुकामबाट गएको चिकित्सक टोलीलाई उदृत गर्दै प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले विज्ञप्ति जारी गर्दै कोरोना नभई सिजनल फ्लु भएको उल्लेख गरेका छन्। प्रारम्भिक परीक्षणमा मौसमी रुघा खोकीले समस्या ल्याएको जनस्वास्थ्य कार्यालयलाई उदृत गर्दै प्रजिअ ढकालले जानकारी दिए। ‘सामान्य परीक्षणबाट यही हो भन्ने अबस्था नआउन सक्छ’, ढकालले भने, ‘राजधानीबाट ल्याबका विज्ञको टोली साँझसम्म पुगेपछि थप पुष्टि होला ।’

यो संक्रमण कोरोना भाइरसको पनि हुन सक्ने आशंका गर्दै जुगल गाउँपालिका कार्यालयले स्वास्थ्य मन्त्रालयलाई पत्र पठाएको थियो । ‘हाम्रा स्थानीय स्वास्थ्यकर्मीले जुगल गाउँपालिकामा देखिएको समस्या रुघाखोकीको मात्र भएको जानकारी गराएका छन् । कोरोनाको कुरा सबै गलत हो’, प्रवक्ता श्रेष्ठले भने ।

उनले जुगल गाउँपालिकाको रुघाखोकीले बढी प्रभाव पारेको ठाउँमा स्वास्थ्यकर्मीको टोली पुगिसकेको श्रेष्ठले बताएका छन् । सर्वसाधरणको शंका निवारणका लागि चिकित्सक टोलीले त्यहाँका बिरामीको रगत र र्‍यालको नमुना काठमाडौं ल्याउने र टेकु अस्पतालमा कोरोना हो वा होइन भनेर परीक्षण गरिने प्रवक्ता श्रेष्ठले बताए ।