६ बैशाख २०८१, बिहीबार

कोरोना संक्रमणको आशंका गरिएको बिरामी टेकु अस्पतालबाट भागे

Teku Hospital

कोरोना भाइरस संक्रमणको आशंकामा टेकु अस्पताल पुगेका एक बिरामी भागेका छन् ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका साउदी अरबका एक नागरिक अस्पतालबाटै भागेका हुन्।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले उनी करिब एक साताअघि चीन हुँदै नेपाल प्रवेश गरेको जानकारी दिए।

सामान्य रुघाखोकी लागेपछि एक हप्ताअघि अस्पताल पुगेका उनलाई डाक्टरले आइसोलोसनमा राख्नुपर्ने बताएका थिए। भाषाको समस्या भागेका उनी अस्पतालबाट निस्केपछि फर्केर नआएको प्रवक्ता श्रेष्ठको भनाइ छ। अहिले उनको खोजी भइरहेको श्रेष्ठले बताए।

अस्पतालमा बुधबारमात्रै कोरोना भाइरस संक्रमणको आशंकामा तीन जनालाई टेकु अस्पताल भर्ना गरिएको छ ।

यस्तै चीनबाट आएका दुई जना नेपाली र एक जना चिनियाँ नागरिकलाई कोरोना संक्रमणको आशंकामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा निगरानीमा राखिएको मन्त्रालयले जनाएको छ।

उनीहरुको रगतको नमुना संकलन गरेर जाँचका लागि पठाइएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।