१५ चैत्र २०८०, बिहीबार

प्रदेशसभा सदस्य बोहराको पद रिक्त

unnamed 1

सुदूरपश्चिम प्रदेश सभाका सदस्य झपट बहादुर बोहराको प्रदेशसभा सदस्य पद रिक्त भएको छ ।

सोमबार बसेको प्रदेशसभाको बैठकमा सभामुख अर्जुनबहादुर थापाले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट प्रदेशसभा सदस्य बोहराले दल त्याग गरेको सम्बन्धी सूचना प्रदेशसभा सचिवालयमा दर्ता भएअनुसार नेपालको संविधानको धारा १८० तथा राजनीतिक दलसम्बन्धी ऐन र सुदूरपश्चिम प्रदेशसभा नियमावली, २०७४ बमोजिम उहाँको प्रदेशसभा सदस्य पद रिक्त भएको जानकारी दिनुभयो ।

अछाम जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ को ‘ख’ बाट प्रदेशसभा सदस्यमा माओवादी केन्द्रका तर्फबाट निर्वाचित बोहरा हालै नेकपा (एमाले) मा प्रवेश गर्नुभएको थियो । प्रदेश सरकारका निवर्तमान आर्थिक मामिला तथा योजनामन्त्री बोहरा एमालेमा प्रवेश गरेसँगै माओवादी केन्द्रले दल त्याग गरेको सम्बन्धी सूचना प्रदेशसभा सचिवालयमा वैशाख ३ गते दर्ता गराएको थियो ।

उहाँलाई माओवादी केन्द्रले पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासित गर्ने निर्णय गरेको थियो ।

त्रिपन्न सदस्यीय सुदूरपश्चिम प्रदेश सभाका एक जनाको पद रिक्त भएसँगै ५२ प्रदेशसभा सदस्यमा सीमित भएको छ । यसमध्ये नेकपा माओवादी केन्द्र अब १३ जनामा सीमित रहेको छ । एमालेका २५, नेपाली कांग्रेसका १२ र राष्ट्रिय जनता पार्टीका दुईजना प्रदेशसभा सदस्य रहेका छन् ।

सोमबारको बैठकमा प्रदेश सभाको अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति हर्कबहादुर कुँवरले समितिमा दफावार छलफल भई तयार पारिएको ‘सुदूरपश्चिम प्रदेशको राष्ट्रिय वन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’को प्रतिवेदन प्रस्तुत गर्नुभयो ।