६ चैत्र २०८०, मंगलवार

नेपालगञ्जमा तीन घण्टामा तीन कोरोना सङ्क्रमितको मृत्यु

chitwan corona death 2
फाइल फोटो

बाँकेमा गए राति भेरी अस्पतालमा उपचाररत तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

नेपालगञ्ज स्थित भेरी अस्पतालको कोरोना विशेष वार्डमा उपचाररत तीन सङ्क्रमितको मृत्यु भएको जिल्ला सङ्कट व्यवस्थापन समिति बाँकेका कोरोना स्रोत व्यक्ति तेज वलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार भेरी अस्पतालमा उपचाररत राजापुर नगरपालिका–१ बर्दिया निवासी ७३ वर्षीय पुरुषको शनिबार बेलुका ७ः०० बजे मृत्यु भएको थियो । त्यसको ४० मिनेटपछि बाँकेको बैजनाथ गाउँपालिका–८ निवासी ७८ वर्षीया महिलाको मृत्यु भएको हो । गत चैत ३१ गते कोरोना सङ्क्रमण देखिएपछि वैशाख १ गते अस्पताल भर्ना गरी उपचारकै क्रममा गए राति ७ः४० बजे उहाँको मृत्यु भएको हो ।

भेरी अस्पतालमै उपचाररत नारायण नगरपालिका–१ दैलेख निवासी ६८ वर्षीया महिलाको पनि गए राति नै निधन भएको छ । गत चैत ३० गते कोरोना सङ्क्रमण पुष्टि भएपछि भेरी अस्पताल नेपालगञ्जमा भर्ना गरी उपचार भइरहेकामा स्वास्थ्यमा सुधार नआएपछि उपचारकै क्रममा शनिबार राति ९:३० बजे मृत्यु भएको कोरोना स्रोत व्यक्ति वलीले जानकारी दिनुभयो ।

बाँकेमा उपचारका लागि बाहिरी जिल्लाबाट आएर ज्यान गुमाउने कोरोना सङ्क्रमितको सङ्ख्या ९६ पुगेको छ भने बाँके जिल्ला निवासी ६० जनाको कोरोना सङ्क्रमणका कारण निधन भएको छ ।