१६ चैत्र २०८०, शुक्रबार

भक्तपुरका जनतामा कोरोना भाइरसको त्रास

RG Bhaktapur BidhutPradhikaran

जिल्लाको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालीम केन्द्रको मुख्य गेटमै ठूलो कालो ब्यानर टाँगिएको छ । ब्यानरमा पाँच नारा लेखिएका छन् । गेटको दायाँबायाँ भित्ता र रूखमा पर्चा, पम्प्लेट टाँसिएका छन् ।

गेटमा प्रहरी तैनाथ छन् । प्राधिकरणको गेटअगाडि अचेल दैनिक स्थानीय बासिन्दाले सरकारविरुद्ध नाराबाजी गर्ने गरेका छन् । कोही नारा लगाइरहेका देखिन्छन्, महिला र ज्येष्ठ नागरिकको मुहारमा निकै चिन्ता र त्रास देखिन्छ । बस्तीको बीचमा रहेको प्राधिकरणमा सरकारले चीनबाट फर्काउन लागेका १८५ नेपालीलाई राख्ने क्वारेन्टाइन बनाएपछि यस क्षेत्रमा दैनिक देखिएका दृश्य हुन् यी ।

बुधबार खरिपाटीको गेटमा उभिएका स्थानीय ५६ वर्षीय राजाराम कार्कीले निकै चिन्ता व्यक्त गर्दै भने, “हामी यही ठाउँमा बस्छौँ, चीनबाट सरकारले फर्काउन लागेका नेपालीलाई यहीँ राख्ने भएछ, यहाँ रोग फैलियो भने त हामी सबै सिधिन्छौँ, सरकारले हाम्रो सुरक्षाको बेवास्ता किन गरेको होला रु” उनी मात्रै होइन, यतिखेर सिङ्गो जिल्लाका बासिन्दामा बढेको त्रास र चिन्ता हटाउन सम्बन्धित निकायले खासै पहल गरेको छैन । सरकारले चीनबाट कोरोना भाइरस सङ्क्रमति भएका नेपालीलाई होइन, स्वस्थ्य नेपाली नागरिकलाई ल्याउने हो र उनीहरुलाई १४ दिन क्वारेन्टाइनमा राखेर परीक्षण मात्रै गर्ने हो भनेरसम्म पनि स्थानीय जनतालाई बुझाउन सकेको छैन ।

“स्थानीय बासिन्दालाई भाइरस सङ्क्रमति होइन, स्वस्थ्य नागरिक ल्याएर परीक्षणमा राख्ने मात्रै हो भन्ने कुराको जनचेतना मात्रै दिन सकेको भए पनि यति धेरै त्रास र आक्रोश हुने थिएन, स्थानीयवासीको विरोधका बाबजुद प्रहरी तैनाथ गरेर जबर्जस्ती क्वारेन्टाइन बनाएपछि त्रास र आक्रोश बढेको हो”, चाँगुनारायण नगरपालिकाकी महिला जनप्रतिनिधि कमला गिरीले भनिन् ।

नगरकोट नाल्दुम पर्यटन विकास समितिका उपाध्यक्ष धनबहादुर लामाले घना बस्ती, पर्यटकीय क्षेत्रलाई बेवास्ता गरेर क्वारेन्टाइन बनाउन यो ठाउँको छनोट गर्नु गलत भएको बताए । नगर प्रमुख सोमप्रसाद मिश्रले स्थानीय सरकारसँग कुनै समन्वय नै नगरी हस्तक्षेप गरेर क्वारेन्टाइन राख्न खोज्नु गलत भएको बताए ।

क्वारेन्टाइन निर्माण पूरा

सरकारले चीनको वुहानबाट नेपाल फर्काउन लागेका नेपालीलाई राख्नका लागि खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणका चार भवनमा क्वारेन्टाइन निर्माण कार्य पूरा गरेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । प्राधिकरणको वातावरण तथा सामाजिक अध्ययन विभाग, होस्टेल भवन, क्यान्टिन नजीकै रहेको रातो भवन र प्राधिकरणका निर्देशक क्वार्टरमा क्वारेन्टाइन बनाइएको नेपाल विद्युत् प्राधिकरण खरिपाटीका सहनिर्देशक केशवराज ओलीले जानकारी दिए ।

चीनको कोरोना भाइरस सङ्क्रमित वुहानबाट आगामी फागुन ३ गते उद्धार गरी ल्याइने नेपालीलाई क्वारेन्टाइनमा राख्न चार ब्लकमा १९९ श्यया तयार पारिएको छ । नेपालीको उद्धार गर्न स्वास्थ्यकर्मी र विमान चालक दलका सदस्य गरी ८५ लाई तालीम दिइएको र चीनबाट स्वदेश फर्किन चाहने १८५ नेपालीलाई एकैपटक नेपाल ल्याएर विमानस्थलमा स्वास्थ्य जाँच गरी सिधै खरिपाटीमा बनाएको क्वारेन्टाइनमा १४ दिन राखेर स्वस्थ्य भए मात्रै घर पठाइने भएको हो ।

जहाजका पाइलट लगायतका टोलीलाई चाँगुनारायण–६ नगरकोटको खानेपानी तालीम केन्द्रमा राख्ने तयारी गरिएको छ । विमानस्थलमा ज्वरो आएको पाइएमा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिने छभने सरकारले कोरोना भाइरस सङ्क्रमितको उपचारका लागि सरकारी र निजी अस्पतालमा गरी १४७ आइसोलेशन वार्ड तयार पारेको छ । रासस