१४ बैशाख २०८१, शुक्रबार

कर्णाली प्रदेश सरकार जोगिँदा सुदूरपश्चिम सरकारलाई राहत

bhatta 1
फाइल फोटो

नेकपा एमालेका सांसदहरुले फ्लोर क्रस गरेर कर्णाली प्रदेश सरकारलाई जोगाइ दिएपछि त्यसले सुदूरपश्चिम प्रदेश सरकारलाई समेत राहत भएको छ । सात वटा प्रदेशमध्ये कर्णाली र सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्रको नेतृत्वमा सरकार छ ।

नेकपा विभाजनपछि अल्पमत परेका दुई वटै सरकारलाई एमालेभित्रको विवादले भने राहत भएको छ । नेकपा एमालेको ओली समूहले दर्ता गरेको कर्णाली प्रदेश सरकार विरुद्धको अविश्वासको प्रस्ताव एमाले माधव समूहका सांसदहरुले फ्लोर क्रस गरेर विफल तुल्याइ दिएपछि त्यसले तत्काललाई सुदूरपश्चिम प्रदेश सरकारको संकट पनि टरेको हो ।

यद्दपि सरकारलाई संकटबाट पार लगाउन कर्णालीमा झै यहाँ पनि एमालेको नेपाल समूहका सांसदहरुको भूमिका निर्णायक हुने देखिएको छ । सुदूरपश्चिममा पनि ओली समूहले सरकारका विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरे माओवादी नेतृत्वको सरकार जोगाउन एमाले नेपाल समूहका सांसदहरुले फ्लोर क्रस गर्ने देखिएको छ । जसमा काग्रेसले पनि साथ दिने संभावना छ ।

नेकपा एमालेको संसदीय दलको शुक्रवार बसेको बैठकमा ओली पक्षका सांसदहरु अनुपस्थित हुनु र एकलौटी ढंगले संसदीय दलको विधान सर्वसम्मत पारित गर्नुले पनि ओली समूहका हरेक रणनीतिलाई असफल बनाउन नेपाल समूह सक्रिय भएको देखिन्छ ।

नेकपा एमालेभित्रको समूहगत विवादले एमालेबाहेक अन्य पार्टीलाई भने फाइदा पुग्ने देखिन्छ । संकटमा परेका माओवादी नेतृत्वको सरकारलाई जोगाइ दिएको छ भने सत्ता बाहिर रहेको नेपाली काँग्रेसलाई सत्तामा पुग्ने बाटो सहज बनाइ दिएको छ ।

माओवादी केन्द्रका सुदूरपश्चिम सहइञ्चार्ज खगराज भट्टले सुदूरपश्चिम प्रदेश सरकार तत्काल फेरवदल हुने संभावना नरहेको बताए । उनले माओवादी केन्द्रले सत्ता साझेदारीका लागि तत्काल कुनै पार्टीसंग सहकार्य नगरेको बताए ।

उनले भने, ‘हामीले एमालेसँगको सहकार्य जारी राखेका छौँ । अहिले सुदूरपश्चिममा अरु पार्टीसंग सहकार्य गर्नुपर्ने आवश्यता छैन । आवश्यक परेको खण्डमा अन्य पार्टीसँग सहकार्यका लागि छलफल चाहन्छौँ ।’