१६ चैत्र २०८०, शुक्रबार

बाँकेमा भारतबाट फर्किएका नौ जनामा कोरोना, सङ्क्रमण अस्वभाविक रूपमा बढ्दै

jamunaha border health post scaled
फाइल फोटो

बाँकेमा भारतबाट आएका नौ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

बाँकेको नेपालगञ्ज स्थित जमुनाह नाका हुँदै भारतबाट आज नेपाल प्रवेश गरेका १४ जनालाई कोरोना भाइरस सङ्क्रमणको आशङ्कामा नमूना परीक्षण गर्दा नौ मा पुष्टि भएको हो । बाँकेमा भारतबाट नेपाल फर्किने कूल नेपालीमध्ये ६४ दशमलव २८ प्रतिशतमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखाका प्रमुख रामबहादुर चन्दले जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपालगञ्जस्थित जमुनाह नाकामा सञ्चालन गरिएको स्वास्थ्य सहायता कक्षमा गरिएको नमूना परीक्षणमा भारतको गुजरात र दिल्लीबाट आएका नौ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो । भारतको गुजरातबाट आएका सात र दिल्लीबाट आएका दुई जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

पुष्टि हुनेमा सुर्खेतका छ तथा बाँके, दाङ र जाजरकोटका एक–एक जना रहेको प्रमुख चन्दले जानकारी दिनुभयो । भारतमा कोरोना सङ्क्रमण बढेसँगै नेपाल फर्किएकाबाट नेपालमा पनि कोरोना सङ्क्रमण तीव्र गतिमा फैलिने तर्फ मध्यनजर गर्दै नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखाले गत चैत ११ गतेदेखि जमुनाह नाकामा स्वास्थ्य कक्ष स्थापना गरी नेपाल आउनेहरूको ज्वरो नाप्ने तथा शङ्कास्पद देखिएमा एन्टिजेन प्रविधिमार्फत कोरोनाको जाँच गर्दै आएको छ ।

भारतमा अहिले तीव्ररूपमा सङ्क्रमण बढेकाले रुपैडिहामा किनमेलका लागि जानमा रोक लगाइनुका साथै भारतका विभिन्न शहरबाट घर फर्किने नेपालीलाई समेत नेपाल–भारत सीमाक्षेत्र जमुनाहमा अनिवार्य कोरोना परीक्षण गर्न लगाइएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिनुभयो ।

उहाँका अनुसार सीमानाकामा कडाइसँगै अत्यावश्यक कामबाहेक भारत जान रोक लगाउने, भारतबाट आएका व्यक्तिलाई स्वास्थ्य परीक्षणका लागि नाकामा जनशक्ति थप गर्ने, नेपालगञ्ज बजार क्षेत्रमा समेत मास्कको अनिवार्य प्रयोग र सामाजिक दूरी कायम गर्न जिल्ला सङ्कट व्यवस्थापन केन्द्र बाँकेको बैठकले आग्रह गरेको छ । बाँकेमा कोरोना सङ्क्रमण दर अस्वभाविक रूपमा बढ्दै गएको बताइएको छ ।

स्वास्थ्यका मापदण्ड कार्यान्वयनमा बेवास्ताका गरिएमा विगतमा जस्तै फेरि बाँके कोरोना सङ्क्रमणको केन्द्रविन्दु बन्ने आशंका बढेको छ । बाँकेमा आज मात्रै १०६ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको बाँकेका कोरोना स्रोत व्यक्ति तेज वलीले जानकारी दिनुभयो । उहाँका अनुसार भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा १९० जनाको स्वाब परीक्षण गर्दा १०६ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो ।

सङ्क्रमण रोकथाममा एमाले कमिटी परिचालननेकपा (एमाले) बाँकेले कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि जिल्लाव्यापीरूपमा मातहतका कमिटीलाई परिचालन गरेको छ । पार्टीका वडास्तरमा रहेका कमिटीको नेतृत्वमा टोलटोलसम्म पुग्ने गरी कोरोना भाइरस सङ्क्रमण रोकथामको सचेतना अभियान सञ्चालन शुरु गरिएको एमाले बाँकेका अध्यक्ष सूर्य ढकालले जानकारी दिनुभयो ।

उहाँका अनुसार अभियान अन्तर्गत पार्टीका वडास्तरमा रहेका वडा कमिटीले प्रत्येक वडामा मास्क प्रयोग, स्यानिटाइजर, सामाजिक दूरी कायम गर्ने, शङ्कास्पद बिरामीको उपचार व्यवस्थामा सहयोगी भूमिका निर्वाह गर्नेछन् । जिल्लाका आठ स्थानीय तहमा रहेका ८१ वटै वडामा रहेका पार्टी कमिटीका अध्यक्ष र सचिवलाई आवश्यक तयारी र परामर्शसहित आजदेखि कार्यक्षेत्रमा खटाइएको अध्यक्ष ढकालको भनाइ छ । “

पार्टीको वडा कमिटीले स्थानीय तहले सञ्चालन गरेका कोरोना भाइरसविरुद्धको अभियानमा समेत सहकार्य र सहयोगी भूमिका निर्वाह गर्नेछन्”, उहाँले भन्नुभयो ।