७ बैशाख २०८१, शुक्रबार

टीकापुरमा हात्तीले घर भत्कायो : पार्कमा पर्यटकको घुइँचो

hatti hati 4
फाइल फोटो

टीकापुर–५ नुक्लीपुरमा हात्ती स्थानीय बस्तीमा पसेर घर भत्काएको छ ।

बुधबार राति २ बजेतिर टीकापुर पार्क नजिकै रहेको नुक्लीपुरमा हात्ती पसेर त्यहाँस्थित राजकुमार चौधरीको कच्ची घर भत्काएको हो । ‘‘घरमा तीन जना थियौँ । राति मस्त सुतेका थियौँ, एक्कासि घर हल्लिन थाल्यो’’, उहाँले भन्नुभयो, ‘‘घरको बीचमा भित्ता भएर बाच्यौँ, एउटा भित्ता भत्काइसकेपछि अर्को भित्ता भत्काउन थालेका बेला भाग्यौँ, नत्र ज्यान जाने थियो होला ।’’

बस्तीमा हात्ती पसेपछि स्थानीयवासीले रातभरि थाल, भाँडाकुँडा ठटाएर र आगो बालेर भगाएका टीकापुर नगरपालिका–५ का वडाध्यक्ष रामशङ्कर डगौरा थारुले बताउनुभयो । ‘‘टीकापुर पार्कसँगै जोडिएका जङ्गल हुँदै हात्ती गाउँ पसेको हो । “हात्ती बर्दिया राष्ट्रिय निकुञ्जबाट आएको अनुमान छ’’, उहाँले भन्नुभयो, ‘‘गाउँले निकै डराएका छन् । रातभरि सुतेका छैनन् ।’’ केही वर्षअघि पनि टीकापुरमा हात्ती आएको थियो । हात्तीले करीब ६ वर्षअघि टीकापुर पार्कमासमेत क्षति पु¥याएको थयो ।

‘‘हात्ती पार्ककै जङ्गलमा रहेको छ । अझैँ हात्ती कर्णाली नदीपारी नगएकाले गाउँमा त्रास कायमै छ’’, स्थानीयवासी गम्भीर चौधरीले भन्नुभयो, ‘‘नुक्लीपुर आसपासमा त्रास बढेको छ । यहाँ जङ्गली हात्ती मात्र नभइ अन्य जङ्गली जनावरको समेत डर रहेको छ ।’’ पछिल्लो समय जङ्गली जनावरको आक्रमण बढ्दै गएकाले स्थानीयवासीमा त्रास बढेको उहाँले बताउनुभयो ।

एकै दिनमा रु तीन लाख ५० हजार राजश्व सङ्कलन

गुलावको बगैँचाका नामले चिनिने टीकापुर पार्क (वृहत उद्यान) नयाँ वर्षको पहिलो दिन भरिभराउ थियो । पार्कमा पिकनिक खान र घुम्न आउनेको भीड लागेको थियो ।

टीकापुर पार्कमा नयाँ वर्षको पहिलो दिन बुधबार रु तीन लाख ५० हजार राजश्व सङ्कलन भएको छ । अघिल्लो वर्ष कोरोनाका कारण शून्य अवस्थामा रहेको पार्कमा यस वर्ष पहिलो दिन नै रु तीन लाख ५० हजार राजश्व सङ्कलन भएको हो । विसं २०७६ को पहिलो दिन भने रु दुई लाख ९३ हजार राजश्व सङ्कलन भएको थियो ।

विसं २०७७ मा कोरोना महामारीका कराण पार्क बन्द थियो । पहिलो दिन १२ हजार ५०० नागरिकले पार्क अवलोकन गरेका पार्क इञ्चार्ज अर्जुन कुँवरले जानकारी दिनुभयो । नयाँ वर्ष– २०७८ को अवसरमा टीकापुर पार्क बिहान ६ बजेबाट प्रवेश खुला गरिएको थियो । पछिल्लो समय कैलालीवासीको पिकनिक खाने र छिमेकी जिल्लाका नागरिकको पर्यटकीय ठाउँका रुपमा स्थापित टीकापुर पार्क पर्यटकको रोजाइँ बन्न थालेको छ । पार्क छेउमै रहेको कर्णाली नदीको कलकल बग्ने पानी, नदीको छालमा गरिने जलयात्रा (¥याफ्टिङ) को आनन्द लिन र पार्कमा फुलेका झण्डै ४२ प्रजातिका रङ्गीविरङ्गी गुलाफका फूलले पर्यटकलाई आकर्षित गर्ने गरेको स्थानीयवासी बताउँछन् ।

टीकापुर नगरपालिकाले नयाँ वर्षको अवसरमा पार्कमा आउने पर्यटकको व्यवस्थापनका लागि थप कर्मचारी र स्थानीयवासीलाई परिचालन गरेको छ । १३ जना कर्मचारी कार्यरत टीकापुर पार्कमा नयाँ वर्षको अवसरमा पर्यटक बढ्ने भएकाले पाँच नगर प्रहरी र पाँच स्थानीयवासीलाई परिचालन गरिएको उहाँले बताउनुभयो । ‘‘पर्यटकको बढ्दो भीडभाडको व्यवस्थापनका लागि नुक्लीपुर प्रहरी, इलाका प्रहरी कार्यालय टीकापुर, स्थानीय युवा र पार्कका कर्मचारी समेत खटेका छन्’’, इञ्चार्ज कुँवरले भन्नुभयो, ‘‘पिकनिकस्थलमा पानी, खाना पकाउने ठाउँ व्यवस्थापन र सरसफाइ गरिएको छ । पार्क किनारमा रहेको कर्णाली नदीमा चार वटा ¥याफ्टिङ तैनाथ छन् ।’’ पार्कमा आउने पर्यटकले कर्णाली नदीमा जलयात्रा गरेर नदीपारी रहेको टापुमा गएर रमाउने गर्दछन् ।

कैलालीको पूर्वी क्षेत्रको टीकापुर बजार घुम्न जाने पर्यटकका लागि टीकापुर पार्क पहिलो रोजाइँमा पर्ने गर्दछ । पर्यटकको गतिविधि बढेसँगै पार्कको यहाँको आम्दानीसमेत वृद्धि हुन थालेको छ । गत वर्ष कोरोना महामारीका कारण बन्द भएको टीकापुर पार्क आठ महिनापछि खुलेको थियो । ‘‘आठ महिनासम्म बन्द रहेको पार्क खुलेपछि विस्तारै पार्कमा पर्यटक भित्रिन थालेका छन्’’, नगर प्रमुख तपेन्द्रबहादुर रावलले भन्नुभयो, ‘‘यस वर्ष पनि कोरोना महामारी फैलने जोखिम रहेकाले पार्कमा भीडभाड गर्न नहुन आग्रह गरेका छौँ । पार्कभित्र पनि सामाजिक दूरी कायम गरेर घुम्न पार्कको प्रवेशस्थलमै अनुरोध गर्न थालिएको छ ।’’

विसं २०२८ मा स्थापना भएको पार्क अहिले स्थानीयवासीको आजआर्जनसँग जोडिएको छ । पार्क वरिपरि होटल तथा रेष्टुरेण्ट खुलेका छन् । यो ठाउँ केराका ब्राण्डका रुपमा चिनिएको छ । पार्कमा आउनेहरु केराका परिकार अनिवार्य खाने गर्दछन् । पार्कमा महेन्द्र आरोग्य गृह, वीरेन्द्र विश्राम, वाटिकार ऐश्वर्य उद्यान लगायतका संरचना छन् ।

नयाँ वर्षको अवसरमा कैलालीको लम्कीचुहास्थित चिसापानी कर्णाली पुलमा समेत पर्यटकको भीड लागेको थियो । पुलमा फोटो खिच्न र चिसापानी घुम्नका लागि सो दिन १५ हजारभन्दा बढी आन्तरिक पर्यटक आएको बताइएको छ । कर्णाली नदीमा चिसापानी हुँदै टीकापुर पार्कसम्म जलयात्रा (¥याफ्टिङ) गर्नेको सङ्ख्यामा समेत वृद्धि हुने गरेको छ । कर्णाली पुल अवलोकन गरेर जलयात्राको आनन्द लिँदै टीकापुर पार्कसम्म आउने र त्यहाँ घुमेर फर्कने पर्यटक बढ्दै गएको स्थानीयवासी सुरवीर धामीले बताउनुभयो ।

‘‘साथीभाइ तथा स–परिवार घुम्नेको सङ्ख्या समेत बढेको छ’’, उहाँले भन्नुभयो, ‘‘चाडपर्वमा आफन्तसँग पार्कको टापुमा पुगेर खाजा खाने र नदी किनारमा रमाउने चलन विस्तारै बढ्दै गएको छ ।’’