१५ चैत्र २०८०, बिहीबार

प्रधानमन्त्री ओलीको चुनौती: ‘तिम्रो समर्थन चाहिएको छैन, फिर्ता लैजाउ’

kp oli
फाइल फोटो

प्रधानमन्त्री केपी ओलीले आफूलाई माओवादीको समर्थन नचाहिएको भन्दै फिर्ता लैजान चुनौति दिनुभएको छ । काठमाडौंमा गरिएको एक कार्यक्रममा प्रधानमन्त्री ओलीले आफ्नो राजिनामा मागेकोमा आपत्ति जनाउँदै भन्नुभयो, ‘मेरो सरकार बहुमतको हो । जुन सरकारसँग बहुमत छ, उसले किन राजिना दिने ?’

उहाँले थप्नुभयो, ‘समर्थन फिर्ता लैजाउ । किन समर्थन गरिहेको ? बहुमतको सरकारले किन राजिनामा दिने । चाहिएको छैन तिम्रो समर्थन । फिर्ता लैजाउ ।’ माधव नेपालले पार्टी फुटाउन खोजेको आरोप लगाउँदै ओलीले माधव नेपालले अब कहिँबाट चुनाव जित्न नसक्ने ठोकुवा गर्नुभयो ।

नेपालले टिकट त बाँड्लान् तर एक जना पनि जित्दैनन् भन्दै उहाँले भन्नुभयो, ‘टिकट त बसपार्कमा बाँढेको बाढ्यै छ नि । माधव नेपालले टिकट बाँढ्न सक्नुहुन्छ तर सांसद एक जना पनि बनाउन सक्नुहुन्न । आफै जित्नुहुन्न ।’

आफू समर्थन फिर्ता लिएर केही गर्न नसक्ने तर राजीनामा माग्ने प्रचण्डको शैली हरुवा अभिव्यक्ति भएको भन्दै ओलीले माओवादीको समर्थन आफूलाई नचाहिएको प्रष्ट पारे। प्रधानमन्त्री ओलीले प्रचण्डले समर्थन फिर्ता नलिई कांग्रेस र जसपा गुहार्दै हिँडेको र उनै प्रचण्डलाई एमालेकै माधव नेपाल पक्षले साथ दिइरहेको आरोपसमेत लगाए। उनले कसैको धाक धक्कुसँग आफू नडराउनेसमेत स्पष्ट पारे। 

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा पुनःस्थापनाले राजनीतिक अस्थिरता ल्याएको र संसदले काम गर्न नसक्ने अवस्था सृजना भएको बताए। अदालतको फैसला आफूहरूले माने पनि यो संसदबाट पार नलाग्ने र नयाँ सरकार पनि बन्ने अवस्था नरहेको दावीसमेत गरे।

आत्मालोचना गरेर आउन आग्रह गर्दै उहाँले भन्नुभयो, ‘गल्ती महशूस गरेर आउनुस् । बिना भेदभाव काम गर्न दिन्छु । तर गूटबन्दी हुँदैन चल्दैन । समूहगत रुपमा कुरा गरिन्न । व्यक्तिगत रुपमा व्यवहार गरिन्छ । माधव नेपालजी पार्टीमा आएर काम गर्छु भन्नु हुन्छ भने काम गर्नुस् । तर आत्मालोचना गरेर मात्रै ।

कार्यक्रममा प्रतिपक्षी दल कांग्रेसका नेताहरू पनि संसद विघटनको विकल्प छैन भनेर चुनावको पक्षमा उभिएको भन्दै ओलीले माओवादी र माधव नेपालहरू चुनावबाट भागिरहेको आरोप पनि लगाए।