fbpx
१ जेष्ठ २०७८, शनिबार

छ महीनापछि प्रदेश २ सभाको बैठक भोली

प्रदेश २ मा करीब छ महीनापछि सोमबार प्रदेश २ सभाको बैठक बोलाइएको छ । प्रदेश सरकारले प्रदेशसभा छल्न खोजिरहेकामा छ महीनामा अनिवार्य बैठक बस्नुपर्ने बाध्यात्मक व्यवस्थाका कारण पाँचौँ अधिवेशन शुरु गर्न लागिएको बताइएको छ ।

प्रदेशसभा संसद् सचिवालयका निमित्त सचिव रञ्जीत यादवका अनुसार चौथो अधिवेशन कात्तिक ४ गते सकिएको थियो । संसद् बैठकअघि कार्यव्यवस्था समितिको बैठक बोलाइए पनि सदस्यको टुङ्गो लाग्न नसक्दा बैठक बस्न नसकेको प्रदेशसभा संसद् सचिवालयका निमित्त सचिव रञ्जित यादवले बताउनुभयो ।

नेकपा पार्टी विभाजन र जनता समाजवादी पार्टी एकता भएकाले कार्य व्यवस्था समितिको सदस्य फेरबदल गर्न दललाई पत्र पठाए पनि उनीहरूले नाम नदिँदा कार्य व्यवस्था समितिको बैठक अन्योलमा परेको हो । पाँचौँ अधिवेशनको पहिलो बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट आएको पत्रबारे जानकारी गराएर शुभकामना दिने कार्यसूची तय छ । अन्य विषयमा दलसँग छलफल भइरहेको यादवले जानकारी दिनुभयो ।

माओवादी केन्द्रको संसदीय दलको नेतामा साह प्रदेश २ मा नेकपा माओवादी केन्द्रले संसदीय दलको नेता चयन गरेको छ । पार्टी कार्यालयमा बसेको बैठकले दलको नेतामा भरत साहलाई चयन गरेको हो । यस्तै उपनेतामा जगत यादव, प्रमुख सचेतकमा दिलीप साह र सचेतकमा रुवि कर्ण चयन हुनुभएको छ । तत्कालीन नेकपा एमालेसँग एकीकरण हुनुअघि माओवादीको दलको नेतामा रामचन्द्र मण्डललाई चयन गरिएको थियो तर पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि मण्डल प्रधानमन्त्री ओलीको खेमामा लाग्नुभएकाले अहिले भरत साहलाई दलका नेताका रुपमा चयन गरिएको प्रमुख सचेतकमा चुनिएका दिलीप साहले जानकारी दिनुभयो ।

ओली समूहमा लागेका मण्डलसहित चार सांसदलाई स्पष्टीकरण सोध्ने निर्णयसमेत पेरिसडाँडा बैठकले गरेको प्रमुख सचेतकमा चुनिएका साहले जानकारी दिनुभयो । मण्डलसहित कुन्दन साह, ज्वाला साह र मो. समीर अन्सारी ओली खेमामा लाग्नुभएको छ । उहाँहरु चार जनालाई स्पष्टीकरण सोधिने र त्यसपछि प्रक्रिया पूरा गरी सांसदबाट हटाउने तयारी समेत पार्टीले गरेको सचेतक साहले जनाउनुभयो ।

प्रदेश २ मा माओवादी केन्द्रका ११ सांसद छन् । प्रदेशको पाँचौँ अधिवेशनको पहिलो बैठक चैत ३० गते सोमबार दिनको १ बजे आह्वान गरिएको छ ।