७ बैशाख २०८१, शुक्रबार

कर्णाली प्रदेशका सरकारबाट एमालेका ३ मन्त्रीले दिए संयुक्त रुपमा राजीनामा

nanda sing budha prakash jwala and dala rawal 1

कर्णाली प्रदेशका सरकारबाट नेकपा एमालेको ३ जना मन्त्रीले आज मंगलबार राजीनामा दिएका छन् । नेता महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा एमालेको नेपाल पक्षमा रहेका आर्थिक मामिला प्रकाश ज्वाला, सामाजिक विकास दल रावल र वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले राजीनामा दिएका हुन् ।

मंगलबारआयोजित पत्रकार सम्मेलनमा मन्त्री प्रकाश ज्वालाले एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्च अदालतको फैसलाले कर्णाली प्रदेश सरकारलाई प्रभाव परेको उनले बताएको हुन् । एमाले संसदीय दलले सरकारबाट फिर्ता आउने निर्णय गर्‍यो, त्यसलाई स्वीकार गरेर हामीले राजीनामा दिएका हौं ।’

यसअघि गत चैत ४ गते एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । तर नेपाल–खनाल समूहले ‘गुटको बैठक’ भन्दै मुख्यमन्त्रीलाई आफूहरुको समर्थन कायमै रहेको बताएको थियो । यतिबेला भने खनाल–नेपाल पक्षले पार्टीकै लाइनअनुसार समर्थन फिर्ता लिने मनस्थिति बनाएपछि सरकार ढल्ने अवस्थामा पुगेको हो ।

एमाले सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री शाही नेतृत्वको सरकार अल्पमतमा परेको छ । प्रदेशसभाको ४० मध्ये २० सांसद एमालेका छन् । सभामुख राजबहादुर शाही बाहेक १९ जनामा ओली पक्षमा १० र नेपाल पक्षमा ९ जना बाँडिएका थिए । सभामुखले निर्णायक हुने अवस्थामा बाहेक मतदान गर्न नपाउने भएकाले संसदीय समीकरणमा एमालेका १९ जना सांसद छन् । प्रदेशसभामा माओवादी केन्द्रसँग १२ सिट छ । माओवादीले एमालेमा लागेका सांसद धर्मराज रेग्मीलाई कारबाही गरेपछि सांसद संख्या घटेको हो ।