१३ बैशाख २०८१, बिहीबार

कलाकारहरूको फेसबुक ह्याक गर्ने १४ वर्षीय किशोर पक्राउ

Deepa Saroj 1616665446

साइबर ब्युरोले दीपाश्री निरौलालगायत कलाकारहरूको फेसबुक ह्याक गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

प्रहरीले पर्सा बहुदजरमाई नगरपालिका-५ बस्ने १४ वर्षीय बालकलाई पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नविन्द अर्यालले जानकारी दिए।

केही समयअघि फिल्मक्षेत्रका कलाकारहरुको फेसबुक ह्याक भयो । कलाकार तथा निर्मात्री दिपाश्री निरौला, नायक तथा निर्माता सरोज खनाल लगायतका कलाकारहरुको फेसबुक ह्याक गरी उनीहरुका साथीमार्फत् रकम माग गरिएको थियो ।

कलाकारहरूको फेसबुक ह्याक गरी साथीहरूसँग पैसा माग गरेको भन्ने प्रहरी कार्यालयमा जाहेरी परेको थियो।

आफ्नो फेसबुक ह्याक भएपछि दिपाश्री निरौला लगायतका केही कलाकारले सार्वजनिक रुपमै आफ्नो फेसबुक ह्याक गरेर कसैले पैसा मागिरहेको भन्दै कसैलाई पनि पैसा नपठाउन आग्रह गरेका थिए । दिपाश्री निरौलाले त प्रहरीको साइबर ब्यूरोमा उजुरीसमेत दिएकी थिइन् ।

सोही जाहेरीको आधारमा खटिएको प्रहरीको टोलीले १४ वर्षीय बालकलाई जिल्ला अदालत काठमाडौंको पक्राउ अनुमति पर्साबाट पक्राउ गरेको हो।

कलाकारको फेसबुक ह्याक गर्ने ह्याकरको खोजी गर्ने क्रममा प्रहरीको साइबर ब्यूरोले मंगलबार पर्साबाट १४ वर्षीय किशोरलाई पक्राउ गर्यो । साइबर ब्यूरोका प्रवक्ता अर्यालका अनुसार मंगलबार पक्राउ गरिएका किशोरले आफ्नो अपराध स्वीकार गरेका छन् ।

प्रहरीका अनुसार कलाकारहरुको फेसबुक ह्याक गर्ने ह्याकर स्थानीय विद्यालयमा कक्षा ९ मा अध्ययनरत १४ वर्षीय किशोर रहेका छन् । कम्प्युटर र इन्टरनेटमा चाख राख्ने परिवर्तित नाम बहुदरमाई भएका किशोरले फिसिङ लिंक पठाएर कलाकारको फेसबुक ह्याक गरेका थिए । पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ५ का १४ वर्षीय किशोरलाई जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिइ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनलाई जिल्ला प्रहरी कार्यालय पर्साको सहयोगमा सोमबार पक्राउ गरेको हो। उनलाई काठमाडौँ ल्याइने तयारी भइरहेको छ ।