१६ चैत्र २०८०, शुक्रबार

आश्रममा ‘तपस्वी’ बम्जन फेला परेनन्, पक्राउ गर्न ७७ जिल्लामा सर्कुलर

Ram Bahadur Bomjon

आफ्नै अनुयायीहरुको हत्या तथा यौनशोषणको आरोप लागेका ‘लिटिल बुद्ध’ रामबहादुर बम्जनलाई पक्राउ गर्न प्रहरी असफल भएको छ । बम्जन कहाँ छन् भन्ने पत्ता नलागेको र उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

बम्जनलाई पक्राउ गर्न ७७ वटै जिल्ला प्रहरी कार्यालयलाई सर्कुलर जारी गरिएको छ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता शैलेश थापा क्षेत्रीका अनुसार बम्जनलाई पक्राउ गर्न ७७ वटै जिल्ला प्रहरी कार्यालयलाई सर्कुलर जारी गरिएको हो। जबरजस्ती करणी गरेको कसुरमा जिल्ला अदालत सर्लाहीबाट बिहीबार पक्राउ पूर्जी जारी भएपछि प्रहरीले शुक्रबार बिहानै बम्जनलाई पक्राउ गर्न उनकै आश्रम सिन्धुली पुगेको थियो।

सिन्धुलीको कमलामाई नगरपालिका-८, बेसारे भन्ने ठाउँमा करिब ४० बिगाहा क्षेत्रफलमा बम्जनको आश्रम फैलिएको छ। सोही ठाउँमा पुगेर प्रहरीले बिहान करिब ४ घण्टा सर्च अपरेशन चलाए पनि बम्जन फेला परेका थिएनन्।

त्यसपछि प्रहरीले शंकास्पद अन्य आश्रममा पनि खोजी गरेको थियो। तर त्यहाँ पनि बम्जन फेला नपरेको प्रहरीले जनाएको छ।

बम्जनको आश्रममा गएका अनुयायीहरु बेपत्ता भएको खबर बाहिर आएसँगै प्रहरीले उनीमाथि अनुसन्धान सुरु गरेको थियो। केही अनुयायीले बलात्कारको आरोपसमेत लगाएका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले बम्जनको सिन्धुपाल्चोक आश्रमस्थलमा पुगेर अनुसन्धान गरे पनि प्रतिवेदन सार्वजनिक गरेको थिएन। हराएका अनुयायीको हत्या गरेर शव गाडेको आशंकामा खोजी गर्दा एक खाल्डोमा नुनको पोका फेला परेको थियो।

शव गाडेर चाँडो कुहाउन नुन हालेको प्रहरीको आशंका थियो। तर, कंकाल फेला परेको थिएन। बम्जनविरुद्ध बारा र मकवानपुरमा समेत उजुरी परेको छ।

बम्जनका आश्रमबाट आनीहरू सर्लाहीकी रिता बोट, नुवोकोटकी कर्मा तामाङ र मकवानपुरकी फूलमाया रूम्बा बेपत्ता भएको आरोप उनलाई लागेको छ।

बमजनका दुई अनुयायी बाराका सुरेश आले मगर र मकवानपुरका सञ्चमान वाइबा पनि अहिलेसम्म फेला पर्न सकेका छैनन्।

    सम्बन्धित समाचार...