१३ बैशाख २०८१, बिहीबार

एमालेतिर लागेका माओवादी केन्द्रका चार सांसद कारबाहीमा

prachanda maobadi perisdanda

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले ४ जना प्रदेश सांसदलाई कारबाही प्रक्रिया अघि बढाएको छ । पार्टी परिवर्तन गरेका प्रदेश १, लुम्बिनी र कर्णाली प्रदेशसभाका चार सांसदलाई कारवाही गर्न प्रक्रिया अघि बढाएको हो । एमालेतिर लागेका प्रदेश १ का टंक आङ्बोहाङ, लुम्बिनीका दधिराम न्यौपाने र दिनेश पन्थी तथा कर्णालीका धर्मराज रेग्मीलाई प्रदेशसभा सदस्यबाट हटाउन लागेको हो ।

माओवादीका प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले एमालेमा गएर आर्थिक मामिला तथा योजनामन्त्री भएका टंक आङ्बोहाङलाई कारवाही गरेको पत्र सोमवार प्रदेशसभा सचिवालयमा दर्ता गराउने बताए । कारवाहीका लागि केन्द्रीय कमिटीमा सिफारिस गरिएको र सोमवार बैठक शुरु हुनुअगावै पत्र दर्ता गरिने उनले जानकारी दिए ।

पार्टी परिवर्तन गरेका लुम्बिनीका दुई प्रदेशसभा सदस्यलाई पदमुक्त गराउन प्रदेशसभा सचिवालयमा सिफारिस गरेको छ । एमाले प्रवेश गरेका रूपन्देहीका न्यौपाने र गुल्मीका पन्थीलाई हटाउन माओवादी केन्द्रको संसदीय दलले सिफारिस गरेको हो । अहिले दुवै जनालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्य बनाएका छन् ।

दुवै नेतालाई माओवादी केन्द्रको लुम्बिनी प्रदेशसभा संसदीय दलका नेता कुलप्रसाद केसीले एक साताअघि २४ घण्टे स्पष्टीकरण सोधेका थिए । उनीहरूले जवाफ नै नदिएपछि संसदीय दलबाट कारवाही गरिएको र त्यसको जानकारी प्रदेशसभा सचिवालयलाई गराइएको लुम्बिनी प्रदेश सरकारका सामाजिक विकासमन्त्री एवं माओवादी केन्द्रका स्थायी कमिटी सदस्य सुदर्शन बरालले बताए ।

दुवैलाई संसदीय दल र पार्टीले कारबाही गरेको पत्र आइतबार माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्ती मगरले प्रदेशसभा सचिवालयमा दर्ता गराएका छन् । सोमवार बस्ने प्रदेशसभा बैठकबाट उनीहरूलाई पदमुक्त गर्ने निर्णय हुने उनले बताए ।