७ बैशाख २०८१, शुक्रबार

उपत्यकाको आकाश तुवाँलोले ढाक्यो, अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन विज्ञको सुझाव

air quality kathmandu
फाइल फोटो

काठमाडाँै सहित देशभरि वायु प्रदूषण बढेकोले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन जनस्वास्थ्य विज्ञले सुझाव दिएका छन । वायु प्रदूषणले स्वाश प्रश्वासमा कठिनाइ लगायत विविध स्वास्थ्य समस्या देखा पर्नसक्ने भएकोले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन र निस्कनै पर्ने अवस्था भए मास्कको प्रयोग गर्न आग्रह गरेका छन ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा मेघनाथ धिमालले वन जङ्गलमा डढेलो लाग्दा वायु प्रदूषण भएकोले अत्यावश्यक काम बाहेक बाहिर ननिस्न र निस्कनपरे एन–९५ मास्क प्रयोग गर्न समेत अनुरोध गर्नुभयो । उहाँले वायु प्रदूषणका कारणले फोक्सोमा क्यान्सर, मुटुसम्बन्धी रोग, मस्तिष्कघात, हृदयघात जस्ता समस्या देखिने भएकोले बाहिर ननिस्कन अनुरोध गर्नुभयो ।

वायु प्रदूषणका कारणले आँखा रातो हुने, घाँटीमा समस्या आउने र टाउको दुख्ने जस्ता समस्या आउने गर्दछन् । बालबालिका, गर्भवती महिला, दीर्घरोगी, ज्येष्ठ नागरिकको विशेष ख्याल गर्नुपर्दछ । नेपालमा वर्षेनी वायु प्रदूषणका कारण उत्पन्न हुने रोगका कारणले ३० देखि ३५ हजार मानिसको मृत्यु हुने गरेको छ । विश्वमा ७० लाख मानिसको मृत्यु हुने गरेको छ ।

उहाँले केही वर्षयता घर भित्रको वायु प्रदूषण कम र घर बाहिरको वायु प्रदूषण बढी हुने गरेको बताउनुभयो । उहाँले अत्यावश्यक नभइ सवारी साधन नचलाउन र सवारी साधन वा पेशा व्यवसायका कारण हुनसक्ने वायु प्रदूषणका कारणलाई कम गर्न आग्रह गर्नुभयो ।

वायुप्रदूषण्का कारणले घर बाहिरको खुला स्थानमा नबस्न, नखेल्न र मर्निङ वाकमा घर बाहिर जाने गरेको भए पनि नजान समेत उहाँले अनुरोध गर्नुभयो ।

गर्मी बढेसँगै डढेलोका कारण आज बिहानैदेखि उपत्यकासहित देशभरिको वायु प्रदूषण बढेको छ । यसअघि उपत्यकामा यही चैतको १३ गतेदेखि पनि यस्तै किसिमको प्रदूषण भएको थियो । प्रदूषणका कारणले सरकारले यही चैत १७ गतेदेखि २० गतेसम्म विद्यालय बन्द गरेको थियो