१६ चैत्र २०८०, शुक्रबार

विद्यार्थीले गरेको तालाबन्दी खुलेन

padlocked gate
सांकेतिक तस्विर

दुर्गाथली गाउँपालिकामा रहेको एक प्राविधिक धारको विद्यालयमा पढाइ नभएको भन्दै विद्यार्थीले तालाबन्दी गरेका छन । चौधारी माध्यमिक विद्यालयमा आइएससीएजी अध्ययनरत विद्यार्थीले शिक्षकले पढाइ नगरेको र तत्काल पढाइ सञ्चालन गर्नुपर्ने माग राख्दै विद्यालय बन्द गराएका हुन् ।

विद्यालयले लामो समयसम्म आइएससीएजीका विद्यार्थीलाई शिक्षकले पढाइमा बेवास्ता गरेको र विद्यालय सञ्चालन भएको डेढ महिना बितिसक्दा पनि पढाइ नभएको भन्दै आफूहरुले विद्यालयमा तलाबन्दी गरेका विद्यार्थीले बताएका छन् ।

विद्यार्थीले पटकपटक विद्यालयमा पढाइ निरन्तरताका लागि अनुरोध गरे पनि शिक्षक र विद्यालय प्रशासनले बेवास्ता गर्ने गरेको विद्यार्थीको भनाइ छ । पटकपटक शिक्षकले अटेरी गरेपछि यही चैत १६ गतेदेखि विजय खातीको संयोजकत्वमा तालाबन्दी गरिएको बताइएको छ । विद्यालयमा तालाबन्दी भएपछि आइएससीएजी र कक्षा ९ तथा १० का विद्यार्थीको पठनपाठनमा बाधा भएको छ ।

आइएससीएजीमा २५ विद्यार्थी विद्यालयमा अध्यनरत छन् । विद्यालयका प्रधानाध्यापक खगेन्द्र मिश्रले तलब सम्बन्धमा भएर शिक्षक उपस्थित नहुँदा पठनपाठन अवरुद्घ भएको बताउनुभयो ।

साथै विद्यार्थीले पनि जानकारी बिना नै तालाबन्दी गरेको र कुरा गर्न खोज्दा बीचमा चार-पाँच दिन सार्वजनिक बिदा भएको हुँदा माग पूरा गर्न नसकेको जानकारी दिनुभयो ।