१५ चैत्र २०८०, बिहीबार

परराष्ट्रमन्त्री ज्ञवालीद्वारा भरतपुरको प्राकृतिक चिकित्सालय अवलोकन

bageshwori bhraman

परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले आज भरतपुरको वागेश्वरीमा रहेको योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयको अवलोकन गरेका छन् ।

भरतपुरमा एमाले चितवनको कार्यक्रममा आएका मन्त्री ज्ञवालीले योग तथा प्राकृतिक उपचारमा निकै उल्लेखनीय कार्य गरेको भन्दै चिकित्सालयको भ्रमण गरेका हुन् । चितवनका जिल्लास्तरीय नेताहरुसहित वागेश्वरी पुगेका मन्त्री ज्ञवालीले चिकित्सालयको उपचार पद्धतिको जानकारी लिनुका साथै उपचाररत बिरामीहरुसँग पनि कुराकानी गरेका थिए ।

सोही अवसरमा चिकित्सालयको विकासका लागि निर्माण गरिएको गुरुयोजनाबारे मन्त्री ज्ञवालीलाई जानकारी गराइएको थियो । झण्डै ४८ करोड बढी लाग्ने गुरुयोजनाबारे जानकारी लिए पछि मन्त्री ज्ञवालीले यसबारे सरकारलाई जानकारी गराएर विकासमा थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको चिकित्सालयका मेडिकल डाइरेक्टर डाक्टर हेमराज कोइरालाले नारायणी अनलाइनलाई जानकारी दिए ।

त्यसैगरी चिकित्सालय सञ्चालक समितिका सदस्य तथा देवघाट क्षेत्र विकास समितिका सदस्य नवराज ढकालले मन्त्री ज्ञवालीले यस क्षेत्रलाई योग तथा प्राकृतिक उपचारको हब बनाउँदै शिक्षालाई अगाडि बढाउनुपर्ने विचार राखेको बताए । त्यस चिकित्सालयको गुरुयोजनामा भवनहरु नयाँ बनाउने, प्राकृतिक चिकित्साको कलेजको रुपमा विकास गर्ने लक्ष्य राखिएको छ । मन्त्री ज्ञवालीको अवलोकन भ्रमणमा एमाले चितवनका नेताहरु कृष्णभक्त पोखरेल, पार्वती रावल, काशीनाथ अधिकारीलगायतको सहभागिता रहेको थियो । मन्त्री ज्ञवालीले चिकित्सालयमा उपचाररत बिरामीसँग कुरा गर्नुका साथै उपचार प्रक्रियाको अवलोकन पनि गरेका थिए ।

नेपालमा कोरोना संक्रमण बढ्दै गएको समयमा वागेश्वरीमा रहेको प्राकृतिक चिकित्सालय आइशोलेसनको रुपमा विकास गरिएको थियो । त्यहाँ गत भदौ महिनादेखि कोरोना संक्रमितको लागि आइसोलेसन सेन्टरको रुपमा सेवा दिन थालिएको थियो । अहिले आइसोलेसन बन्द छ । सुरुमा त सामान्य कोरोना संक्रमित मात्रै आएका थिए, चुनौती पनि कम थियो । तर, आइसोलेसन सेन्टरमा भरतपुर क्यान्सर अस्पतालमा उपचारका लागि गएका एक जनालाई कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालले सिधै यही चिकित्सालयमा सिफारिस गरेर पठाइदियो ।

कोरोना भाइरसको महामारी अघिसम्म गुपचुप अवस्थामा रहेको आयुर्वेद तथा प्राकृतिक चिकित्सालयहरूले कोरोनाको अवसरमा आफ्नो क्षमता प्रस्तुत गर्ने मौका पाएको थियो । कोरोनाको संक्रमण भयो भन्नेलाई धेरैले बेसार पानी, गुर्जाे जस्ता जडीबुटीको सिफारिस गर्न कोही पनि हिचकिचाउनु नपर्ने अवस्था यही कोरोनाकै समयमा बन्यो । अवस्था गम्भीर बन्दाबाहेक कोरोना संक्रमितलाई उपचारको लागि समेत आयुर्वेद एवम् प्राकृतिक चिकित्सा उपचार केन्द्रमा नै जान समेत मान्छेहरूले सिफारिस गर्न थाले ।

bageshwori 2

चिकित्सालयका मेडिकल डाइरेक्टर डा. हेमराज कोइरालाका अनुसार यहाँको आइसोलेसमा बिरामीलाई दिइने सेवा र खानपानको शैली अन्तभन्दा भिन्न थियो । चिकित्सालयले कोरोना संक्रमितलाई १६ घण्टासम्मको फास्टिङदेखि फोक्सोलाई चलायमान गराइरहनको लागि विभिन्न किसिमका योगका आसनहरू समेत गराउने गरेको छ । जसअनुसार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म मात्रै कोरोना संक्रमितलाई खाना खान दिइन्थ्यो । तर, खाना खानको लागि खुला गरिएको ८ घण्टासम्म शरीरलाई अत्यावश्यक पौष्टिक आहार खुवाउने गरिन्थ्यो ।

जस्तो मान्छेको शरीरको तौल जति किलो छ त्यसको पाँच गुणा अर्थात् ५० किलोको मान्छेले दैनिक २५० ग्राम फलफूल खान दिने गरिन्थ्यो । यसमा चार किसिमको फलफूल सामेल गरिएको थियो । त्यस्तै, खानामा एउटा फापरको रोटी, कागुनो वा चिनोको चामलको डेढ सय ग्रामसम्म खाना, २ सयदेखि ३०० ग्रामसम्मको सागसब्जी, २ देखि ३ दिनसम्म अंकुरित गेडागुडी, हर्बल डिडक्सन भनेर गुर्जाे पानी, अदुवा, मरिज, ल्वाङलगायत खान दिने गरिन्थ्यो । साँझ बेसार पानी वा अश्वगन्धाको झोल खुवाउने गरिन्थ्यो ।

कोरोना संक्रमितको संख्या बढ्दै जाँदा चितवनमा उपचारका लागि स्थानको अभाव भएको थियो। लक्षण नदेखिएका कोरोना संक्रमितका लागि ‘लेभल–ए’ अस्पतालका रुपमा गत चैतमा कोभिड अस्थायी अस्पताल सञ्चालनमा ल्याइएको भए पनि सरोकारवाला बीचमै आपसी खिचातानीका कारण तीन महिना नपुग्दै बन्द गरिएको थियो । भरतपुर अस्पतालमा कोरोना संक्रमितका लागि भनेर छुट्टाइएको ७० शैया भरिभराउ थियो ।

जनस्तरबाट व्यापक दबाब आएपछि भरतपुर महानगरपालिका र भरतपुर अस्पताललगायतका निकायहरूको समन्वयमा प्राकृतिक चिकित्सालयलाई उपचार केन्द्रका रुपमा प्रयोग गरियो । चिकित्सालयमा एलोपेथिक उपचार पद्धतिबाट निको नभएका प्यारलाइसिस, मधुमेह, उच्च रक्तचापलगायतका बिरामीहरूको सफल उपचार हुँदै आएको छ । २०७४ असोजमा स्थापना भएको चिकित्सालयमा ३६ जना स्वास्थ्यकर्मीहरू छन्।