fbpx
४ बैशाख २०७८, शनिबार

अब देशमा छिट्टै नयाँ सरकार गठन हुन्छ : प्रचण्ड

फाइल फोटो

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब देशमा छिट्टै नयाँ सरकार गठन हुने बताएका छन् । शनिबार कपिलवस्तुमा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले नेपाली कांग्रेसले केपी ओलीको राजीनामा माग गरेकाले अब देशमा राजनीतिक परिवर्तन हुने बताएका हुन् ।

उनले भने ‘अब देशले छिट्टै नयाँ सरकार पाउँछ । केहि दिनमै राजनीतिले कोल्टे फेर्नेछ ।’ अर्काे एक प्रसंगमा उनले १० वर्षे जनयुद्धका कारण देशमा संघीय लोकतान्त्रिक गणतन्त्र सहितको संविधान निर्माण भएको दाबी गरे । माओवादी जनयुद्धमा मधेसी जनताका छोराछोरीले गरेको बलिदानी र त्यागका कारण देशमा नयाँ संविधान जारी भएको भन्दै सम्पूर्ण मधेसी समुदायलाई धन्यवाद दिए ।

उनले नयाँ सरकार गठन हुनेबित्तिकै आफूले सबैभन्दा पहिला सीमानाकामा मधेसी जनताले भोग्नुपरेको समस्या हटाउने प्रतिबद्धता जाहेर गरे । उनले भने ‘मलाई मधेसमा केके समस्या छन् सबै थाहा छ । यहाँ सीमामा समस्या छ, मलखाद र सिंचाइको समस्या छ, महिलाहिंसाको समस्या छ अनि रोगव्याधीको समस्या छ ।

ति सबै नयाँ सरकार गठन हुनेबित्तिकै समाधान हुनेछ ।’ राजनीतिमा केपी ओली भन्दा आफू इमान्दार भएको उनले दाबी गरे ।