fbpx
८ बैशाख २०७८, बुधबार

एमालेलाई छिन्नभिन्न पार्नकै लागि ओलीले नेताहरूलाई कारबाही गरेको नेपाल पक्षीय भेलाको निष्कर्ष

नेकपा एमालेको खनाल–नेपाल समूहले नेतालाई सोधेको स्पष्टीकरण र कारबाही अध्यक्ष केपी शर्मा ओलीको तानासाही लाद्ने दुराशय भएको बताएको छ ।

नेपाल समूहको बैठकपछि ११ जना नेताले संयुक्त विज्ञप्ति निकालेर नेताहरूलाई झुटा लाञ्छना लगाउँदै ६ महिनाका लागि पार्टी सदस्यबाट समेत निलम्बन गर्ने कार्य पार्टीको विधान विपरीत स्वेच्छाचारी काम भएको भेलाको निष्कर्ष छ ।

माधवकुमार नेपाल र भीम रावललाई भएको कारबाही पार्टीभित्र विचार र सङ्गठनको सम्बन्धमा छलफल र बहसको ढोका बन्द गरी नेकपा एमालेलाई विभाजन गर्दै छिन्नभिन्न गर्ने दुराशयकै परिणाम भएको पनि नेताहरूले बताएका छन् । नेताहरूलाई कारबाही गर्ने अध्यक्ष ओलीको निर्णय नमान्ने र पार्टी पनि नफुटाउने संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

अध्यक्ष ओली कम्युनिस्ट पार्टीलाई कमजोर बनाउने काममा संलग्न रहेर गतिविधि गरिरहेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा झलनाथ खनाल, माधवकुमार नेपाल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, मुकुन्द न्यौपाने र सुरेन्द्र पाण्डेले हस्ताक्षर गर्नुभएको छ ।

विज्ञप्तिमा ओली पद र शक्तिमा पुगेपछि निरन्तर नेपाल र नेपाली नागरिकको हितमा आघात पुर्‍याउने, राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता, अखण्डता र स्वाभिमानमा आँच पुर्‍याउने विभिन्न काम भएको आरोप पनि लगाइएको छ ।