८ बैशाख २०८१, शनिबार

विवादका कारण ऐसेलुखर्कमा करोडौंको खानेपानी योजना रद्ध

1617068462 ZFzcF 1

विवादका कारण खोटाङको ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलमा करोडौंको खानेपानी योजना रद्ध गर्नुपर्ने अवस्था सिर्जना भएको छ । बाकाचोलस्थित बिस्काम खोला मुहान भएको माथिल्लो खानेपानी योजना स्थानीय द्धन्द्धकै कारण रद्ध गर्नुपर्ने अवस्था सिर्जना भएको हो । वडाध्यक्ष सन्तबीर तामाङले समन्वय नगरी बिस्काम खोलाको पानी अन्यत्र लैजान अनुमति दिएको भन्दै असन्तुष्ट बनेका स्थानीयले वडा कार्यालयमा तालाबन्दी गरेर विरोध सुरु गरेपछि अन्ततः खानेपानी योजना फिर्ता गर्नु पर्ने स्थिति बनेको हो ।

बिस्खाम खोला मुहान भएको खानेपानी योजना सञ्चालन तथा बादेल–बिस्काम सडक उपभोक्ता समिति गठनको विषयमा चुलिएको विवाद हल गर्नकालागि सोमबार गाउँपालिकाको कार्यालयमा भएको द्धि–पक्षीय बैठकले बिस्काम खोला मुहान भएको ऐसेलुखर्क खानेपानी आयोजना कार्यान्वयन नगर्ने निर्णय भएको छ ।

गाउँपालिका अध्यक्ष बिश्वनाथ निरौला, उपाध्यक्ष पुष्पकला भुजेल, वडाध्यक्ष सन्तबिर तामाङ तथा निबेदककातर्फबाट वडा सदस्य जयकुमार तामाङ, स्थानीय नन्दकुमार तामाङ, दिपक राई लगायतबिच भएको छलफलले ऐसेलुखर्क खानेपानी आयोजना कार्यान्वयन नगर्ने र उक्त आयोजना रद्ध गर्न कार्यपालिकाको बैठकबाटै निर्णय गरेर संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको कार्यालय दिक्तेल र अन्य सरोकारवाला पक्षलाई जानकारी दिने लिखित सहमती गरेको छ ।

वडाध्यक्ष तामाङले मनोमानी ढंगले बिस्खाम खोलाको पानी अन्यत्र लैजान अनुमति दिएको र कोठे बैठक राखेर बादेल–बिस्काम सडक उपभोक्ता समिति गठन गरेको भन्दै असन्तुष्ट स्थानीयले गत चैत ४ गते वडा कार्यालयमा ताला लगाएका थिए । श्रोतका अनुसार दुबै जना कांग्रेसबाट निर्वाचित भएपनि वडाध्यक्ष सन्वबिर र वडासदस्य जयकुमारबिचको द्धन्द्धको असर वडाको योजनामा समेत देखिएको हो ।

उनीहरुको ‘इगो’कै कारण करोडौंको खानेपानी योजना गुमाउनुपर्ने अवस्था आएको हो । तामाङद्धय समन्वय र सहमतीको बाटो खोज्नुको सट्टा एकअर्का विरुद्ध शक्ती प्रदर्शनमा समेत उत्रिएका थिए । शनिबार बाकाचोलमा बोलाइएको भेलामा दुबै पक्षबिचमा ढुंगा हानाहान हुँदा स्थिति तनावपूर्ण बनेको थियो ।

स्थिति नियन्त्रण बाहिर जाने सम्भावनाकै कारण सोमबार दिक्तेलबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली ऐसेलुखर्क पुगेको थियो । वडाध्यक्ष तामाङले भने बिस्काम खोलाको खानेपानी अन्यत्र लैजानका लागि स्वीकृति नदिएको बताए ।

बैठकमा संसदीय विकास कोषको १० लाख वजेटबाट निर्माण गरिने बादेल–बिस्काम सडक उपभोक्ता समितिसँगको सम्झौता रद्ध गरी वडा सदस्य तामाङ र डम्बरकुमारी राईको रोहवरमा अर्को उपभोक्ता समिति गठन गर्ने र सम्झौता गरेर सडक निर्माणको काम अघि बढाउने, गत चैत ४ गते वडा कार्यालयमा लगाइएको ताला सोमबारकै मितिबाट खोल्ने र आगामी दिनमा कुनै पक्षबाट कमिकमजोरी नदोहोर्‍याउने सहमती भएको छ । वडा कार्यालय बाकाचोलमा तेश्रो पटक ताला लागेको हो ।