७ बैशाख २०८१, शुक्रबार

आजदेखि काठमाडौंका घर–घरमा मेलम्ची

melamchi

लामो समयदेखि काठमाडौँ उपत्यकावासीले प्रतीक्षा गरेको मेलम्चीको पानी आजदेखि उपभोक्ताको घरघरमा पुग्दै छ । गत फागुन २२ गते सुन्दरीजलको प्रशोधन केन्द्रमा हालिएको पानी शुक्रबारदेखि विभिन्न स्थानमा बनाइएका वितरण केन्द्रमा पठाइएको थियो । तिनै वितरण केन्द्रमा सङ्कलन गरिएको पानी आइतबारदेखि उपभोक्ताको घरमा पठाइने भएको हो ।

मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले भन्नुभयो, “सुन्दरीजलको एउटा प्रशोधन केन्द्रबाट साढे आठ करोड लिटर पानी काठमाडौँ पठाइन्छ, त्यसमध्ये काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले केही पानी पुरानो पाइपलाइनबाट वितरण गर्छ भने केही पानीबाट नयाँ पाइपलाइन परीक्षण र सफाइ हुनेछ ।” उपभोक्ताको घरसम्म जोडिएको पाइपको परीक्षण गर्न करिब एक हप्ता लाग्ने छ ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले भन्नुभयो, “यो पाइपको परीक्षण मात्र हो, पिउन मिल्दैन । परीक्षणपछि प्रशोधन गरेर पठाएपछि मात्रै पिउन मिल्छ ।” गत फागुन १० गते परीक्षणका लागि मुहानबाट सुरुङमा छाडिएको पानी झन्डै २७ किलोमिटर सुरुङ पार गर्दै १२ दिनपछि सुन्दरीजलमा आइपुगेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २२ गते आयोजनाको फ्लसिङ टनेलको हाइड्रो मेकानिकल गेटको बटन थिचेर सुन्दरीजलमा जल प्रवाहको शुभारम्भ गर्नुभएको थियो । शुक्रबार वितरण केन्द्रमा पठाइएको पानी थोक वितरण प्रणाली पाइपलाइन ‘फ्लस’ गर्दै चाबहिलनजिक धोबीखोलामा खसालिएको थियो ।