१६ चैत्र २०८०, शुक्रबार

कोदोको रक्सीलाई ब्राण्ड बनाउने नारा लागू गर्नेछु : मन्त्री राई

Ushakala Rai

प्रदेश नं. १ का सामाजिक विकास मन्त्री उषाकला राईले कोदोको रक्सीलाई ब्राण्ड बनाउन पहल गर्ने बताउनुभएको छ । स्थानीय प्रशासनले कोदोको रक्सी जफत गरिरहेको अवस्थामा “ब्याण्ड भर्सेस ब्राण्ड”को नारा लिएर प्रवद्र्धनमा लाग्नुभएका मन्त्री राईले शुक्रबार शपथ तथा पदभार ग्रहण गर्नुभएलत्तै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्नुहुँदै यस्तो बताउनुभएको हो ।

मन्त्री राईले साना उद्योगका रुपमा रहेको कोदोको रक्सी उत्पादनलाई कानूनीरुपमा बैधता दिने प्रबन्ध मिलाउनुपर्ने बताउँदै आउनुभएको छ । खोटाङको दिक्तेल बजारमा यसअघि स्थानीय उत्पादनको रक्सी प्रहरीले जफत गरेर नष्ट गरेको विषयलाई लिएर स्थानीय सरकारको कडा आलोचनासमेत गर्नुभएको थियो ।

“हाम्रो गाउँमा आमा दिदीबहिनीहरुले पकाएको कोदोको लोकल रक्सी माटोमा खनाएर बहादुरी ???, विदेशी बहुराष्ट्रिय कम्पनीबाट निर्मित विदेशी ब्राण्डको ह्विस्की बियर त सुरक्षित नै छ हैन साथी हो !”, उहाँले लेख्नुभएको स्टाटसमा भनिएको थियो, “यसरी नै हाम्रो आफ्नो स्थानीय लोकल उत्पादन माटोमा मिसाइदिउँ र विदेशी ब्राण्डका ह्विस्की, रक्सी र बियर खाएर हाम्रै कलेजो बिगार्दै पैसा जति विदेश पठाएर विदेशी दलाल पुँजिपतिको सेवा गरौँ !”

मन्त्री राईले पदभार ग्रहण गर्नुभएलत्तै फेसबुकमा लेख्नुभएको स्टाटसमा नेपाली जनताको परिवर्तनको लागि सामाजिक मुक्ति आन्दोलनमा आफ्नो यात्रा अविचलित रहिरहने पनि बताउनुभएको छ । “निष्ठा पूर्वक काम गर्ने र जनताको नजरबाट गिर्ने काम मबाट नहुने कुरामा म विश्वास व्यक्त गर्दछु”, उहाँले लेख्नुभएको स्टाटसमा भनिएको छ, “महिलाको वंशको अधिकार संविधानत लेख्न सफल भएपनि व्यवहारमा कार्यान्वयन गर्नुपर्ने दायित्व बाँकी छ । ”

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा जन्मनुभएका मन्त्री राईले सामाजिक विकास मन्त्रीको पदभार ग्रहण गर्नुभएपछि जन्म दिने आमाबुबा तथा खोटाङ्गे जनतालाई धन्यवाद व्यक्त गर्नुभएको छ । “महत्वपूर्ण घडीमा जन्मदिने आमा स्व. लक्ष्मी राई, पिता रुद्र राईलाई धन्यवाद र स्व. आमालाई सम्झन चहान्छु”, उहाँले फेसबुकमार्फत भन्नुभएको छ, “एक नं. प्रदेशको सामाजिक विकास मन्त्री जस्तो गरिमामय पदमा जिम्मेवारीको योग्य ठान्नु भएकोमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली, संसदीय दलका उपनेता सुवाश नेम्बाङ, प्रदेश १ मुख्यमन्त्री शेरधन राई, पार्टीका आदरणीय नेतागण सबैलाई कृतज्ञता जाहेर गर्दै धन्यवाद व्यक्त गर्दछु । मेरो लक्ष्य र निष्ठाको यात्रामा साथ, सयोग र हौशला दिनुहुने मेरो श्रीमान् पूर्वमन्त्री मा. शेरबहादुर तामाङ्लाई विशेष धन्यवाद व्यक्त गर्दछु साथै परिवारका सम्पूर्ण सदस्यमा माया र धन्यवाद !”

नेकपा एमाले खोटाङबाट एक नं. प्रदेशसभाका लागि समानुपातिक कोटाबाट प्रदेशसभा सदस्य बन्नुभएकी राई सामाजिक विकास मन्त्री बन्नुभएपछि जिल्लाबासीले उहाँलाई सामाजिक सञ्जाल तथा भेटेर बधाई दिइरहेका छन् । मन्त्री राई खोटाङबाट मन्त्री बन्नेमा पहिलो महिला हुनुभएको छ ।