८ बैशाख २०८१, शनिबार

एमाले संसदीय दलको बैठक बालुवाटार बस्ने, कलंकीमा माधव-झलनाथ पक्षको केन्द्रीय कमिटी बस्दै

kp oli madhav nepal

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को संसदीय दलको बैठक आज अपरान्ह ३ बजे बस्ने भएको छ ।

प्रधानमन्त्रीसमेत रहनुभएका एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक शुक्रवार अपरान्ह ३ बजेका लागि बोलाउनुभएको हो । बैठक प्रधानमत्री निवास बालुवाटारमा बस्ने छ ।

फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि एमालेभित्र नेपाल समूह र पार्टी अध्यक्ष केपी शर्मा ओली समूहबीच देखिएको विवाद चरम रुपमा पुगेको छ। 

एमालेले संसदीय दलको बैठक बाेलाएकै दिन माधव-झलनाथ पक्षले केन्द्रीय कमिटी बैठक बोलाएको छ।

बिहान ११ बजे कलंकीमा केन्द्रीय कमिटी बैठक बोलाइएको हो। यता ओलीले दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा संसदीय दलको बैठक बोलाएका छन्।

ओलीले पार्टी समानान्तर गतिविधि नगर्न चेतावनी दिँदै वरिष्ठ नेता माधवकुमार नेपालसहित चारजनालाई स्पष्टीकरण सोधेका थिए। ती चारै नेताले ओलीलाई स्पष्टीकरण लेख्दै उल्टै संगीन आरोप पेस गरेका छन्।

स्पष्टीकरणको जवाफमा ओलीलाई सबै नेताले छुट्टाछुट्टै प्रश्नैप्रश्न तेर्स्याएका छन्। चारै नेताको स्पष्टीकरण पत्रबारे अहिलेसम्म ओलीको प्रतिक्रिया आइसकेको छैन।

ओली पक्षले आफ्नो समूहको बैठक राखेर विधान संशोधन गर्ने, पदमुक्त गर्ने, जिम्मेवारी तोक्ने लगायतको काम गर्दै आएको छ भने नेपाल पक्षले पनि समानान्तर कमिटी गठनलाई तीव्रता दिएको छ।