११ बैशाख २०८१, मंगलवार

पूर्वसभामुख महराको पुनरावेदनमा आज सुनुवाई

krishna bahadur mahara

संसद सचिवालयमा कार्यरत कर्मचारीलाई जबर्जस्ती करणी गर्ने प्रयास गरेको आरोपमा थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दाको उच्च अदालत पाटनमा आज सुनुवाइ हुँदैछ । उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र टेकनारायण कुँवरको इजलासमा पेसी तोकिएको छ ।

यसअघि उच्च अदालतले जिल्ला अदालतबाट महराको मुद्दासम्वन्धी कागजात मगाउने आदेश दिएको थियो । महराले उच्च अदालतमा पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेशविरुद्ध पुनरावेदन गरेका थिए ।

आजको सुनुवाइमा उच्च अदालतले महरालाई पुर्पक्षका लागि थुनामा पठाउने निर्णय सदर गर्ने वा बदर गर्ने निर्णय गर्नेछ । आफू अनुकुल उच्च अदालतको आदेश नआए महरा सर्वाेच्च जान पाउने छन् । त्यस्तै जिल्ला अदालतमा पनि उनको बकपत्र चलिरहेको छ ।

सोमबारदेखि जिल्ला अदालत काठमाडौंमा उनलाई बकपत्रका लागि उपस्थित गराएको होे । न्यायाधीश अम्बिरराज पौडेलको इजलासमा महराको बकपत्र भइरहेको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश सुदर्शन पाण्डेको इजलासले जबर्जस्ती करणी उद्योगमा उनलाई मंसिर ६ गते पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

जिल्ला अदालतको आदेशपछि उनी डिल्लीबजार कारागारमा बसिरहेका छन् । बलात्कार प्रयासको आरोप लागेपछि उनलाई गत असोज १९ गते प्रहरीले पक्राउ गरेको थियो ।~ राजधानी दैनिक