१५ बैशाख २०८१, शनिबार

कोरोनाको उच्च जोखिममा प्रदेश २

province 2 map

केहि दिन यता छिमेकी मुलुक भारतमा कोरोना महामारीको संक्रमण तिव्र रुपमा बढ्दै गएपछि त्यहाका विभिन्न राज्यहरुमा धमाधम लकडाउन गरिएको छ । भारतसँग सीमा जोडिएको प्रदेश २ कोरोना महामारीको उच्च जोखिम रहेपनि प्रदेश २ सरकारले अहिले सम्म नियन्त्रण, रोकथाम तथा उपचारको विषयमा कुनै तयारी थालेका छैनन् ।

समाजिक विकास मन्त्रालयका सचिव कृष्ण काप्रीले भारतमा कोरोना महामारी बढी रहेपनि अहिले सम्म प्रदेश २ सरकारले त्यस विषयमा खासै छलफल नभएको बताए । भारतमा कोरोना महामारी बढेपछि प्रदेश २ पनि जोखिममा हुनु स्वभाविक हो, सचिव काप्रीले भने,‘ तर त्यस विषयमा अहिले सम्म औपचारिक रुपमा कुनै छलफल अहिले सम्म भएको छैन । होली पछि यसबारे छलफल भई अगामी रणनीति तयार हुन्छ ।’ प्रदेशका ८ वटै जिल्ला अहिले कोरोना संक्रमण जाँच गर्ने मेसिन स्थापना भईसकेको तथा जनकपुरधामको प्रादेशिक अस्पताल, विरगंजको नारायणी अस्पताल र सप्तरीको गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालका २५/२५ र बाँकी रहेका सबै जिल्लामा १५ बेडको बेडको सघन उपचार कक्ष (आईसियू) को स्थापना भईसकेकोले खासै तयारीको अवस्था नपर्ने सचिव काप्रीले बताए । यता,कोरोनाको महामारी बढिरहेको छ भने अर्को तिर ५ महिनादेखि आफुहरुले तलब नपाएको भन्दै कर्मचारीहरुले विगत ४ दिनदेखि पिसिआर जाँच प्रदेशका सबै जिल्लामा बन्द गरेको छ । पटक–पटक ताकेता गर्दा पनि असोजदेखि नै बाँकी रहेको तलब नदिएको भन्दै कर्मचारीहरुले प्रदेशका सबै जिल्लामा रहेका पिसिआर जाँच बन्द गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्रमुख डा. श्रवण कुमार मिश्रले बताए । तलबका साथै जोखिम भत्ता समेत नभएको कर्मचारीहरुको आरोप छ ।

संघीय सरकारले ८ चैतमा समाजिक विकास मन्त्रालयलाई परिपत्र गरि प्रदेशमा भारतसँग जोडिएका सबै नाकाहरुमा एन्टिजिन टेस्ट गर्न भनेको छ । तर जाँच गर्ने कर्मचारीहरु नै काम बन्द गरेपछि अहिले सम्म कुनैपनि नाकामा एन्टिजिन टेस्ट हुन नसकेको डा. मिश्रले बताए ।