११ बैशाख २०८१, मंगलवार

त्रिदेशीय फुटबलका लागि नेपाली टोलीको घोषणा

three nations cuup

त्रिदेशीय फुटबल प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा गरिएको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले किरण चेम्जोङको कप्तानीमा आज २३ सदस्यीय टोलीको घोषणा गर्नुभएको हो ।

टोलीमा गोलकिपरका रुपमा विकेश कुथु र दीपक कार्की, डिफेन्डरमा विराज महर्जन, रन्जित धिमाल, रोहित चन्द, निशान लिम्बू, अनन्त तामाङ, दिनेश राजवंशी, अजित भण्डारी र छिरिङ गुरुङ, मिड फिल्डरमा सुजल श्रेष्ठ, तेज तामाङ, त्रिदेभ गुरुङ, एरिक विष्ट, सन्जोग राई, विशाल राई, सुनिल वल र रविशङ्कर पासवान तथा फरवार्डमा दर्शन गुरुङ, अञ्जन विष्ट, अविशेक रिजाल र भरत खवास रहनुभएको छ ।

नेपालले बिहीबार त्रिपुरेश्वर स्थित दशरथ रङ्गशालामा किर्गिस्तानको युथ २३ टोलीविरुद्ध खेल्ने छ । त्रिदेशीय प्रतियोगिता अन्तर्गत यसअघि मङ्गलबार बङ्गलादेश र किर्गिस्तानबीच पहिलो खेल भएको थियो । उक्त खेलमा बङ्गलादेशले किर्गिस्तानको यु–२३ टोलीलाई १–० गोलअन्तरले पराजित गरेको थियो ।

उक्त प्रतियोगितामा किर्गिस्तानका खेलाडीले आत्मघाती गोल गर्नुभएको थियो । जितसँगै बङ्गलादेशले तीन अङ्क बटुलेको छ । प्रतियोगिता अन्तर्गत शनिबार नेपाल र बङ्गलादेशबीच लिग चरणको अन्तिम खेल हुने छ । प्रतियागिताको आयोजना एन्फाले गरेको हो ।

यसअघि गत वर्ष मंसिरमा दशरथ रङ्गशालामा १३औँ दक्षिण एशियाली खेलकूद (साग) भएको थियो । त्यसयता कोरोना भाइरसको महामारीका कारण कुनै पनि अन्तर्राष्टिय फुटबल प्रतियोगिता हुन सकेको थिएन ।