१४ बैशाख २०८१, शुक्रबार

कंगानाको जन्मदिनको अवसरमा ‘थलाइवी’ को ट्रेलर सार्वजनिक, ट्रेलर रिलिज कार्यक्रममा रोइन् कंगना

kangana ranaut

अभिनेत्री कंगना रनावतले मुख्य भूमिका निर्वाह गरेकाे फिल्म ‘थलाइवी’ काे ट्रेलर सार्वजनिक भएकाे छ ।

कंगनाले यो फिल्ममा अभिनेत्रीबाट राजनीतिज्ञ बनेकी जयललिताको भूमिकामा अभिनय गरेकी छन् । ट्रेलर कंगनाको जन्मदिन पारेर मंगलबार रिलिज गरिएको हो ।

ए. एल विजयले निर्देशन गरेको फिल्ममा कंगनासँगै अरविन्द स्वामी, प्रकाश राज, जीसु सेनगुप्ता र भाग्यश्रीको अभिनय छ । ट्रेलरमा जयाको फिल्मी जीवन र राजनीतिमा प्रवेश तथा तमिलनाडुको राजनीतिमा उनको पकडका झलकहरु देखाइएको छ । सन् १९८४ मा इन्दिरा गान्धीसँग संसदमा उनले गरेको संवादको दृश्य पनि ट्रेलरमा अटाइएको छ ।

६ पटकसम्म तमिलनाडुको मुख्यमन्त्री रहेकी जयललिताको भूमिकामा अभिनय गर्न कंगनाले २० केजी तौल बढाएको समाचारहरुमा बताइएको छ ।

हिन्दी, तमिल र तेलुगू भाषामा निर्माण भएको फिल्म २३ अप्रिल २०२१ मा प्रदर्शनमा आउँदैछ । फिल्मको ट्रेलर सार्वजनिक भएसँँगै दर्शकबाट उत्कृष्ट प्रतिक्रिया मिलेको छ । ट्रेलरले दर्शकमा फिल्मप्रति उत्सुकता र कौतुहलता जगाएको छ ।

मंगलबार चेन्नइमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। फिल्मको ट्रेलर सार्वजनिक भएको केही बेरमै सामाजिक सञ्जाल र मिडियामा छाएको छ।

ट्रेलर सार्वजनिक कार्यक्रममा अभिनेत्री कंगना डाको छोडेर रोएकी थिइन्। कंगनाले आफू रोएको भिडिओ सामाजिक सञ्जालमा सेयर गरेपछि उक्त भिडिओ अहिले भाइरल हुन पुगेको छ।

सामाजिक सञजाल ट्विटरमा उक्त भिडिओ सेयर गर्दै कंगनले लेखेकी छन्, ‘म आफूलाई बब्बर शेरनी भन्छु, किनभने म कहिल्यै रुँदिन र कसैलाई रुवाउने मौका पनि दिँदिँन्। म पछिल्लो पटक कहिले रोएकी थिएँ भन्ने मलाई याद पनि छैन्। तर आज धेरै नै रोएँ, मलाई एकदमै आनन्द महसुस भइरहेको छ।’

उनी निर्देशक विजयको तारिफ गर्ने क्रममा भावुक हुँदै रोएकी हुन्।